काठमाण्डू, ३१ वैशाख– सम्पत्ति शुद्धीकरण र धितोपत्र कारोबारसम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी एव शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई प्रहरी हिरासतभित्र राजसी सुविधा दिएर राखिएको खुलासा भएको छ ।
अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले गत २२ चैतमा बयानका लागि बोलाएर नियन्त्रणमा लिएको थियो । अग्रवाललाई ललितपुर प्रहरी परिसरको हिरासतमा राखिएको छ ।
अभियुक्तलाई विशेष सुविधासहित राखिएको पाइएपछि प्रधानमन्त्री कार्यालयको निर्देशनपछि प्रहरीले उक्त प्रकरणको छानबिन गर्ने भएको छ ।
छानबिनका लागि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीको नेतृत्वमा टोली गठन गरिएको प्रहरी मुख्यालय श्रोतले जनाएको छ । अग्रवाललाई एसीसहितको सुविधा सम्पन्न कोठामा राखिएको पत्ता लागेपछि छानबिन थालिएको हो ।
बीमा कम्पनीको रकम निकालेर गैरकानूनी रुपमा धितोपत्र बजारमा लगानी गरेको कसुरमा विवादित व्यवसायी दीपक भट्ट पक्राउ परेसँगै उक्त प्रकरणसँग अग्रवाल पनि जोडिएको खुलेको थियो । शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पनि सोही प्रकरणमा पक्राउ परेका थिए ।
विवादित पृष्ठभूमिका सुलभ कोरोना महामारीका बेला थर्मल गन कलोबजारी गरेको कसुरमा पनि पक्राउ परेका थिए । दीपक भट्टको पहुँचका आधारमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले अग्रवाललाई धरौटीमा रिहा गराएका थिए ।




प्रतिक्रिया