काठमाण्डु-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा राना मगरको चरित्र हत्याका लागि मिडिया ट्रायल चलिरहेको बताएकी छन् ।
प्रतिनिधिसभाको बैठकमा श्रेष्ठले उपसभामुख राना मगरको विवादित पत्रको प्रतिरक्षा गर्दै भनिन्, ‘अहिले उपसभामुखको पत्रलाई लिएर मिडिया ट्रायल भइरहेको छ । यदि आचरणको कुरा गर्ने हो भने सबैको लेटर प्याडमा केके खोजौँ । मानव तस्करीजस्तो ठुलो आरोप यति सजिलै डिक्लेयर गर्नुभयो ? डिक्लेयर गर्नुस् भुटानी शरणार्थी कसले गर्यो ?’
एउटा कठिन समयबाट आएको महिलालाई नहेप्न पनि उनले आग्रह गरिन् ।
एक वर्षदेखिको पत्र हातमा लिएर बसेको दाबी गर्दै उनले भनिन्, ‘कति बेला मौका मिल्ला र ठोकौला भन्ने रहेछ नि । साँच्चिकै छानबिन गर्ने हो भने गरोस् पार्टी तयार छ ।’
संवैधानिक परिषद्मा एमालेको दुई, माओवादीको दुई र रास्वपाको एक तथा एक जना प्रधानन्यायाधीश रहेको बताउँदै श्रेष्ठले त्यो चाहिएको भए आफूहरू छाड्न तयार रहेको बताइन् । ‘चाहिन्छ भने माग्नुस् न, दिउँला । आफ्ना जायजेथा दिने महिलालाई यसरी चरित्र हत्या गर्न पाइँदैन,’ उनले भनिन् ।
प्रतिक्रिया