गर्मीमा शरीरलाई शितल राख्न के-के खाने ?


काठमाण्डु – अहिले गर्मी महिना चलिरहेको छ । गर्मीले आजित बनाएपछि मानिसलाई के गर्ने र कसो गर्ने भन्ने छटपटी हुन्छ । कहाँ शितल होला, के खाँदा शितल होला भन्ने पिरलो सबैलाई हुन्छ ।

हामीले चिसो पानी, चिसो पेयपदार्थ, दही र मही जस्ता पेय पदार्थहरु गर्मी मौसममा खाने गर्छौं । बजारमा सजिल्यै पाइने विभिन्न प्रकारका चिसो पेयपदार्थहरुले शरीरमा अनेकन् प्रकारका बिरामीहरु पैदा गराउँछ । गर्मी मौसममा डिहाइड्रेसन, भोक नलाग्नु र धेरै पसिना आउने कारण शरिरको तापक्रम साधारण हुँदैन । यसले थुप्रै रोगको सम्भावना बढ्ने गर्दछ । यो स्थितीबाट बच्नका लागि आफ्नो खानपिनमा विशेष ध्यान दिन आवश्यक छ ।

गर्मी मौसममा यी खानेकुरा खानुहोस् :

पानी:

गर्मीमा प्रशस्त पानी पिइएन भने डिहाइड्रेसन हुन्छ । शरीरका नसा र कोशिकाहरूलाई पानीले सिंचित गरिराख्न शरीरमा पानीको मात्रा कम हुन दिनु हुँदैन । गर्मी महिनामा घामको सिधा असर हुने भएकाले शरिरलाई अत्यधिक पानीको आवश्यकता पर्दछ । यसर्थ, आफ्नै घरमा सफा गरिएको अथवा उमालेको पानी बोत्तलमा बोकेर हिँड्ने र पानी पिइरहने गर्दा सबैभन्दा उत्तम हुन्छ ।

मकै:

गर्मीमा मकै पोलेर अथवा उसिनेर खानु कतिपयलाई त्यति रमाइलो नलाग्न सक्छ। तर, मकैमा लुटेन र जेक्सानथिन नामक अक्सिडेन्ट्स पाइन्छन् । यसले सूर्यका हानिकारक विकिरणबाट आँखालाई जोगाउने गर्छ । यसर्थ, मकै खाने सिजन शुरु भएपछि भने टन्नै हरिया मकै खान पाठकलाई सुझाव दिइन्छ । साथै, यसले बुढ्यौलीका कारण आँखा कमजोर हुने समस्यालाई पनि कम गर्छ । मकैले शरीरलाई ऊर्जा प्रदान गर्ने कुरा त छँदै छ ।

गाजर:

गाजरको एक कप जुस १० देखि १२ हप्तासम्म नियमित पिउने गर्नाले घाममा पाइने विकिरणले मानिसको छालामा हानि पुर्याउने जोखिम ५० प्रतिशत कम हुने गर्छ । सिधै गाजर खाँदा त झनै राम्रो । तर ख्याल गर्नुहोस्, गाजरमा विभिन्न चिरा परेका ठाउँमा फोहरहरु रहने भएकाले तीनलाई राम्रोसँग खुर्केर र पखालेर मात्र खानु होला ।

खरबुजा:

खरबुजा पनि गर्मीको मौशममा प्रशस्त पाइन्छ । शरीरमा डिहाइड्रेसन भयो भने दिमाग बोधो हुने र मुड ठीक नहुने समस्या हुने भएकाले प्रशस्त पानी भएका यस्ता फलफुलको प्रयोग आवश्यक छ । गर्मीमा पिसाब र पसिना मार्फत शरीरमा रहेको पानी बढी मात्रामा निकास हुने भएकाले पानीको मात्रा बढी भएको खरबुजा जस्ता फलफूल नियमित खाने प्रयास गर्नुपर्छ । खरबुजामा छालालाई घामको विकिरणबाट जोगाउने तत्वसमेत भएकाले गर्मीमा यो ज्यादै उपयोगी हुन्छ । खरबुजामा क्यालोरीको मात्रा कम हुने भएकाले खरबुजा बढी खाँदा पनि मोटाइएला भन्ने चिन्ता पनि हुँदैन ।

काँक्रो:

काँक्रोमा सिलिकाजस्ता तत्व पाइन्छन् । जसले गर्मीमा छालालाई स्वस्थ बनाउने गर्छन् । साथै, यसमा फाइबर, पोटासियम र म्याग्नेसियम पनि प्रशस्त पाइन्छन् । काँक्रोमा पानीको मात्रा बढी पाइने भएकाले यसले शरीरलाई डिहाइड्रेट हुनसमेत दिँदैन । तसर्थ, गर्मीमा खानासँगै काँक्राको सलाद नछुटाउनु ज्यादै लाभदायक हुन्छ ।

दही:

यो समयमा संक्रमणको जोखिम उच्च हुने तथा त्यसबाट पाचन क्रियासम्बन्धी समस्याहरु निम्तिने डर हुन्छ । गर्मी याममा खानपानको विषयमा अपनाउनुपर्ने सावधानी सँगै खानामा दही समावेश गराउनु निकै फाइदाजनक हुन्छ । दहीको नियमित सेवनले गर्मी याममा स्वास्थ्य तथा सुन्दरतालाई प्रवर्धन गर्न सहयोग पूराउँछ ।

पुदिना:

पुदिनामा औषधीय गुण हुन्छ र यो स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । यसमा भिटामिन ‘ए’को मात्रा धेरै हुने भएकाले मानव स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसले अनुहार चम्किलो बनाउन पनि सहयोग गर्छ । यो गर्मीका समयमा स्वास्थ्यका लागि झन् बढी फाइदाजनक मानिन्छ किनभने यसको गुण शीतल हुन्छ ।

गर्मीमा उपयोगी तरकारीहरुः

गर्मीमा खास किसिमका तरकारीको सेवन गर्दा पनि शरिरलाई स्वस्थ राख्न सहयोग पुर्याउँछ । यहाँ हामीले त्यस्तै केहि तरकारीहरुको सूचि तयार पारेका छौँ जसको सेवनले गर्मीमा फाइदा पुर्याउँछ ।

लौका:

लौकामा करिब ९६ प्रतिशत पानी हुन्छ । सलादमा काँक्रोले काम गरेजस्तै यसले तरकारीमा पनि त्यस्तै काम गर्छ । लौका चिसो खालको तरकारी हो । यसले कलेजो स्वस्थ राख्न मद्धत गर्छ ।

क्यालोरी कम हुने भएकाले सजिलै पचाउन सकिन्छ । गर्मी मौसममा यसले पेट सफा पार्छ । ग्यास बन्न दिँदैंन । फाइबर पनि हुने हुनाले अल्सर, पायल्स र ग्यास्ट्रिकका रोगीका लागि लाभदायी हुन्छ ।

प्याज:

गर्मी मौसममा प्याज वरदान नै हो । यसमा भिटामिन सी, भिटामिन बी ६ र म्याङगनिजको मात्रा भरपूर हुन्छ । यसका अलावा क्याल्सियम, आइरन, फोलेट, म्याग्नेसियम, फस्फोरस र पोटासियम पनि पाइन्छ ।

यसमा क्वेरसेटिन नामक एन्टीअक्सिडेन्ट पनि हुन्छ । यो मौसममा काचो प्याज खानाले लू पनि लाग्दैन । यसलाई तरकारीको रुपमा मात्र नभई काचै सलादका रुपमा खान सकिन्छ ।

करेला:

स्वादमा तीतो भएपनि करेला स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । यो सजिलै पच्छ । यसमा फस्फोरस पाइने भएकाले कफको समस्या हटाउन पनि मद्धत गर्छ । यसका साथै प्रोटीन, क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस र भिटामिन पाइन्छ ।

करेलाले पाचनशक्ति मजबूत पार्ने भएकाले भोक पनि जगाउछ । यो चिसो खालको तरकारी भएकाले गर्मी मौसममा उपयोग गर्नु राम्रो मानिन्छ ।

हरियो सिमी:

हरियो सिमीले पनि शरीरलाई आवश्यक पोषक तत्व प्राप्त हुन्छ । यसमा पर्याप्त मात्रामा भिटामिन ए, सी र बी ६ पाइन्छ । यो फोलिक एसिडको पनि राम्रो स्रोत हो । यसका अलावा क्याल्सियम, सिलिकन, आइरन, म्याङनिज, बिटा क्यारोटिन, पोटासियम र कपर तत्व पनि सिमीमा पाइन्छ ।

पर्याप्त मात्रामा एन्टीअक्सिडेन्ट पाइने भएकाले पनि यसले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । कोशिकाहरुको क्षति ठीक गरी नयाँ कोशिका निर्माण गर्न पनि मद्धत गर्छ ।

फर्सी:

फर्सी खनिज तत्वले भरपूर हुन्छ । यसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्छ भने एसीडीटी हटाउन र तौल कम गर्न मद्धत गर्छ । यसको बियाँले प्रोस्टेट क्यान्सरका बिरामीलाई फाइदा पुग्छ । यसमा आइरन, म्याग्नेसियम, सेलेनियम र फस्फोरस हुन्छ । गर्मी मौसममा पेट गडबड हुनेहरुका लागि यो निकै राम्रो खाद्यपदार्थ हो ।

गोलभेंडा:

दिनुहँ एउटा गोलभेंडा खाने हो भने धेरै खालका रोगबाट बच्न सकिन्छ । यसमा भिटामिन ए र सी, फोलेट, पोटासियम, फाइबर र सबै खालका एन्टी अक्सिडेन्ट पाइन्छ । गोलभेंडा खानाले शरीरको रोगप्रतिरोधी क्षमता मजबूत हुन्छ भने रक्तचाप पनि नियन्त्रणमा आउँछ । त्यसैले मुटुका रोगीका लागि यो निकै उपयोगी मानिन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement