एक क्विन्टल सुन भित्र्याउने रेडी ट्रेडर्सको गोदामबाट बरामद ‘ब्रेक शु’ का कार्टुनभित्र के रहेछ ?


काठमाण्डु- राजस्व अनुसन्धान विभागले बुधबार सुन तस्करी प्रकणमा संलग्न रेडी ट्रेडर्स प्रालिको अर्को गोदामबाट बरामद गरेको ६६ वटा ‘ब्रेक शु’का कार्टुन सुन भित्र्याउने क्रममा ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

विभागको टोलीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक क्वीन्टल सुन बरामद भएको घटनामा संलग्न रेडी ट्रेडर्स प्रालिको काठमाण्डु महानगरपालिका १६ स्थित सोह्रखुट्टेको गोदाममा छापा मारेको थियो । गोदामबाट ६६ वटा ‘ब्रेक शु’का कार्टुन बरामद गरिएको थियो ।

६६ वटा ‘ब्रेक शु’का कार्टुनमध्ये अधिकांश कार्टुन खोलेको अवस्थामा भेटिएको छ । ६६ मध्ये करिब एक दर्जन कार्टुनबाहेक सबै खोलेको अवस्थामा भेटिएको हो । कार्टुनमा रहेको सामानहरूको साइज, प्याकिङ, डिजाइन सबै गत २ गते बरामद गरिएको सुनको ब्रेक सुजस्तै देखिएको जनाइएको छ ।

बरामद गरिएको कार्टुनमा सुनको गहना बनाउन प्रयोग हुने साँचो जस्तो देखिने धातुको वस्तु पनि भेटिएको छ । क्विन्टल सुन बरामद भएको घटनाको छानबिनका क्रममा एक चिनियाँ, एक भारतीय, भन्सार कर्मचारी एजेन्टलगायतका १७ जना पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement