सुनकोशीमा बेपत्तामध्ये एकको शव फेला


काभ्रे – सुनकोशी नदीमा खसेर बेपत्ता भएका दुईजना मध्ये एकको शव फेला परेको छ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ सापिङस्थित भित्री सडकखण्डको सिलामे भीरमा बुधबार दिउँसो बोलेरो गाडी दुर्घटना हुँदा सवार दुईजना सो नदीमा खसेर बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा भएको खोजीकार्यका क्रममा आज बिहान सो नदीमा भोला महतको शव फेला परेको हो । उनी भुम्लु गाउँपालिका वडा नं ४ का बासिन्दा भएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकबाट ¥याफ्टिङ ल्याएर खोज्ने क्रममा उहाँको शव फेला परेको र सोही गाउँपालिका वडा नं १ बस्ने २६ वर्षीय अशोक गिरीको भने अझै खोजीकार्य जारी रहेको उनले बताए ।

दोलालघाटबाट सापिङतर्फ दाना र सिमेन्ट लिएर जाँदै गरेको बा१६च ८८३८ नंको सो गाडी अचानक पछाडिको दुईवटै टायर सडकबाट तल खसी कोल्टो पर्दा उनीहरु हामफालेर ज्यान बचाउन खोज्दा सुनकोशी नदीमा खसी बेपत्ता भएको जनाइएको छ । सोही गाडीमा सवार सोही ठाउँ बस्ने ३९ वर्षीया सानुमाया गिरीको बायाँ हात भाँच्चिएको र उहाँ उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement