काठमाण्डु – काठमाडौं महानगरपालिका (कामपा) की उपप्रमुख सुनिता डङ्गोलले क्यान्सरका बारेमा जनचेतना फैलाउन आवश्यक रहेको बताएकी छन् ।
ऐन्ट फाउन्डेसनद्वारा आयोजित क्यान्सर सचेतना र प्रारम्भिक पहिचान सम्बन्धी छलफलमा उनले रोग लाग्नुभन्दा नलाग्न दिनु नै उत्तम हुने भएकाले जनचेतना फैलाउन र नियमित रूपमा स्वास्थ्य परीक्षण गराइराख्नु पर्नेमा जोड दिइन् । कामपाले स्वास्थ्य सेवामा सबैको पहुँचमा पुर्याउन स्वस्थ्य प्रवर्द्धन केन्द्रको अवधारणा जानकारी दिँदै उपप्रमुख डङ्गोलले वडावडामा खोलिएका शहरी क्लिनिकले नियमित परीक्षण गराउनुपर्छ भनेर सचेतना फैलाइरहेको बताइन् ।
स्तन क्यान्सर सर्जन डा. सुजिता हिराचनले नेपालमा हरेक वर्ष क्यान्सर रोगपीडितको संख्या बढ्दै गएको र अधिकांश ढिलो गरी अस्पताल आउँदा समस्या हुने गरेको धारणा राखिन् । उनले भनिन्, ‘क्यान्सरका बारेमा जनचेतना फैलिन सकेको छैन । धेरै जना अवस्था जटिल बनिसकेपछि मात्रै उपचारका लागि आउँछन् । शहरी क्षेत्रमा सचेतना छ तर गाउँ–गाउँमा जनचेतना पुग्न सकेको छैन । क्यान्सरबारे छलफल, पैरवी र परामर्श आवश्यक छ ।’
क्यान्सर रोग विशेषज्ञ डा. उज्ज्वल चालिसेले धेरै महिला क्यान्सरको स्क्रिनिङबाट वञ्चित रहेको बताए । उनले नेपालमा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सरको परीक्षण सुविधा तथा विज्ञहरू भए पनि धेरैको पहुँच नहुँदा धेरैजना स्क्रिनिङको सुविधाबाट वञ्चित भइरहेको उल्लेख गरेका छन् ।
क्यान्सर सर्भाइभर (विजेता) तथा नर्स इनु बस्नेतले आत्मबलले नै क्यान्सर जित्न सकेको बताइन् । ‘क्यान्सर लागेको पहिलोपटक थाहा पाउँदा शून्य अवस्थामा थिएँ । प्रारम्भिक चरणमै पत्ता लागेका कारण क्यान्सरबाट मुक्त भएँ । स्वस्थ्य जीवनशैली र समय–समयमा परीक्षण गर्दा पछि जटिल अवस्था आउँँदैन,’ उनले भनिन् ।
प्रतिक्रिया