काठमाण्डु – काठमाण्डु महानगरपालिकाले सामुदायिक विद्यालयमा कुशल व्यवस्थापकको नेतृत्वका रूपमा प्रधानाध्यापकलाई तथा बालमैत्री र हरेक समस्याको समाधान दिन नेतृत्वदायी शिक्षकको भूमिका खोजेको उपप्रमुख सुनिता डंगोलले बताएकी छन् ।
गत ३ वर्षदेखि अपेक्षित नतिजा प्राप्त गर्न नसकेका र यस वर्ष ५० प्रतिशतभन्दा धेरै विद्यार्थीहरू नटग्रेडेड नतिजा भएका विद्यालयका प्रधानाध्यापकसँग कुराकानी गर्दै उनले नेतृत्वदायी शिक्षक खोजेको बताइन् ।
उनले भनिन्, ‘चुनौती छन् । यसकारण नेतृत्वको खोजी भएको हो । साझेदार एकै ठाउँमा बसेर एउटै दृष्टिबाट काम गर्ने हो भने हरेक समस्याको समाधान खोज्न सकिन्छ । यसपछिको १ महिना ननग्रेडेड विद्यार्थीलाई पढाएर नतिजा सुधारका लागि काम गरौं । त्यसपछि सबै समस्या केलाएर, सीप र क्षमताको विश्लेषण गरेर थप कार्यक्रम तर्जुमा गरौंला ।’
छलफलमा शिक्षा अधिकृत केशव ज्ञवालीले प्रधानाध्यापक र शिक्षकको सम्बन्ध राम्रो नहुनु, विद्यार्थी र शिक्षकको सम्बन्ध राम्रो नहुनु, विद्यार्थीहरूको घरायसी वातावरण राम्रो नहुनु, विद्यार्थीहरू शिक्षासँगै श्रम क्षेत्रमा आवद्ध हुनु, अभिभावकको नियन्त्रणमा विद्यार्थी नहुनुजस्ता कारण केही विद्यार्थीहरूको एसईईको नतिजा राम्रो नभएको बताए ।
छलफलमा विद्यालयका प्रधानाध्यापकहरूले नतिजा सुधारका लागि आउँदो १ महिना अतिरिक्त कक्षा, विद्यार्थीलाई अध्ययनमा प्रोत्साहन लगायत अथक प्रयास गर्ने प्रतिबद्धता जनाए ।
उनीहरूको दृष्टिमा केही विद्यार्थीहरूमा देखिएको नराम्रो नतिजाका पछाडि विद्यालय, अभिभावक र विद्यार्थी सबैका बराबरी भूमिका रहेको उल्लेख गरे ।
प्रधानाध्यापकहरूले थप कारण देखाउँदै भने, ‘केही मेहनत गर्ने विद्यार्थीको पनि ननग्रेडेड नतिजा आयो । कति विद्यार्थीले जाँच दिए तर गयल देखायो । घरमा दिनहुँ झगडा छ, बालबालिकाले पढाइमा ध्यान दिनै सक्दैनन् । अभिभावक जिम्मेवार नभएका कारण विद्यार्थी कसैलाई टेर्दैनन् । कतिपय बालबालिकाले श्रममा आवद्ध भएर अभिभावकको भूमिका बहन गर्नुपर्ने ठाउँमा छन् । उनीहरू चाहेर पनि पढाइमा ध्यान दिन सक्दैनन् । कतिपय विद्यार्थीहरू अभिभावकलाई टेर्दै टेर्दैनन् । अभिभावकलाई साथी जत्तिको पनि मान्दैनन् । अभिभावकलाई उनीहरूको शैक्षिक सुधारका लागि बोलाउँदा विद्यालयमा आउनु नै हुन्न । बिहान पढायो । त्यसपछि खाना खान घर पठाउँदा विद्यार्थी फर्केर विद्यालय नै आउँदैनन् । गयल हुन्छन् । विषयगत शिक्षकको अभाव भयो । दरबन्दी छ, शिक्षक छैनन् । विद्यालय वरिपरिको वातावरण राम्रो भएन यसकारण उनीहरूमा खराब बानीको लत छ । यस्ता धेरै कारणले केही विद्यार्थीहरूको एसईईको नतिजा बिग्रिएको हो ।’
२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा महानगरपालिकाभित्रका ५८ वटा सामुदायिक विद्यालयबाट ४ हजार ५६ जना विद्यार्थी सहभागी भएका थिए । परीक्षार्थीमध्ये ९५६ जना (ननग्रेडेड) ले पुन: परीक्षा दिनुपर्ने भएको छ । उत्तीर्ण विद्यार्थीमध्ये ७८९ जना विद्यार्थीले ३.६१ देखि ४ जीपीए प्राप्त गरेका छन् । यसमा १७ जनाले ४ जीपीए पाएका छन् । गत वर्ष ५४५ जनाले ३.६१ देखि ४ जीपीए प्राप्त गरेका थिए । गत वर्षको तुलनामा यस वर्ष २४४ जना धेरै विद्यार्थीले उच्च जीपीए प्राप्त गरेका हुन् । यो विद्यालयहरूको शैक्षिक गुणस्तरमा आएको सुधार, विद्यार्थीहरूमा मेहनत गर्ने बानीको विकास, शिक्षकहरूको अध्यापनप्रति बढ्दो सक्रियता, नतिजा सुधारका लागि महानगरपालिकाले बिदाको समयमा सञ्चालन गरेका क्याम्पहरू तथा विशेष निगरानी कक्षाबाट आएको परिवर्तन भएको बताइएको छ ।
प्रतिक्रिया