केन्द्रीय सत्ता गठबन्धनमै फर्कियो एकीकृत समाजवादी, लक्ष्मणलाई दिएको समर्थन फिर्ता


धनगढी – नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिँदै केन्द्रीय सत्ता गठबन्धनमै फर्किएको छ ।

एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता दीर्घ सोडारीले मंगलबार प्रदेश प्रमुख नाजिर मियाँलाई भेटेर समर्थन फिर्ता लिएको पत्र बुझाएका छन् ।

यसअघि कांग्रेसका कमलकुमार शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले १० दिनको समय दिएर मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेकोमा एकीकृत समाजवादी समेतको समर्थनमा लक्ष्मणले दाबी पेश गरेका थिए ।

सँगसँगै नेकपा एमाले र माओवादी केन्द्रको समर्थनमा नाउपा सांसद कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । एकै पार्टीका २ जनाले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि अलमलमा परेका प्रदेश प्रमुख मियाँले कानूनी परामर्श गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement