आजदेखि सुपथ मूल्य पसल,दालमा प्रतिकिलो ७ र घ्युमा २० रूपैयाँ छुट


काठमाण्डु – दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले आइतबार (आज )देखि सहुलियत पसलहरु सञ्चालनमा ल्याएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ तथा दुग्ध विकास संस्थानले उपत्यकासहित विभिन्न ४२ जिल्लामा आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो।

काठमाडौं उपत्यकामा थापाथली, ललितपुरको नख्खु, भक्तपुरको सूर्यविनायक गरी ४ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ मूल्य पसल सञ्चालन गर्नेछ ।

चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले हरेक वर्ष सरकारले देशभर सुपथ मूल्य पसल सञ्चालन गर्छ। सुपथ मूल्य पसलमा खाद्य वस्तुमा केही छुट दिइएको छ।

चामलमा प्रतिकिलो ७ रूपैयाँदेखि २५ रूपैयाँसम्म छुट दिइएको छ। दालमा प्रतिकिलो ७ रूपैयाँ, कर्णालीको सिमी प्रतिकिलो १० रूपैयाँ, चिउरा ७ रूपैयाँ,डिडिसी घ्यु २० रूपैयाँ छुट दिइएको छ।

सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले हालै खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई दुई करोड ३२ लाख २० हजार बजेट छुट्याएको थियो भने साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले एक करोड रुपैयाँ छुट्याएको छ । सहुलियत पसल मंसिर ३ गतेसम्म देशैभरि  सञ्चालन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement