पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले व्यक्ति र राजनीतिलाई गाली गरेर मात्रै देश सुधार्न नसकिने बताएका छन् ।
आईतबार गण्डकी आयुर्वेद अस्पतालमा विशेष सेवाको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले व्यक्ति र राजनीतिलाई गाली गरेर मात्रै देश सुधार्न नसकिने भन्दै सक्षम र सकारात्मक काम गर्न सक्ने मान्छे राजनीतिमा आउनुपर्ने बताए ।
उनले भने, ‘जनताले आफ्नो जनप्रतिनिधि आफैंले छान्ने हो र त्योबाट राज्य सञ्चालन गर्ने हो । म अहिले यहाँको मुख्यमन्त्री छु । मैलेभन्दा राम्रो गर्न सक्ने, इच्छा राख्ने हिम्मत हुनेहरूले मलाई विस्थापित गरेर आउनुहुन्छ मेरो ठाउँमा । यहाँ व्यक्ति र राजनीतिलाई गाली गरेर केवल व्यक्तिगत कुरा मात्रै गरेर केही कुरा सुधार्न सकिँदैन । सक्षम र गर्न सक्ने मान्छे राजनीतिमा आउनुपर्छ । नभएका कामहरू गरेर देखाउनुपर्ने अहिलेको आवश्यकता हो, तब मात्रै नेपाल बन्न सक्छ ।’
नकारात्मक कुराले नेपाल बनाउन नसकिने पनि उनले धारणा राखे । सबै सकारात्मक कामहरू गर्दै गयो भने मात्रै स्वास्थ्य, शिक्षा सबै क्षेत्रलाई अगाडि बढाउन सकिने उनको भनाइ छ ।
उनले भने, ‘नकारात्मक कुराले नेपाल बनाउन सकिँदैन । नेपाल बनाउनको लागि यसमा सबैको सकारात्मक सोचका साथ अगाडि बढ्न सक्यौं भने मात्रै हामीले गर्न सक्छौं । हाम्रै पालामा राम्रो गर्न सक्छौं । हामी सबै सकारात्मक कामहरू गर्दै गयौं भने स्वास्थ्य, शिक्षा सबै क्षेत्रलाई अगाडि बढाउन सक्छौं ।’
प्रतिक्रिया