सुरेन्द्र पाण्डेमाथि अभद्र व्यवहार गर्नेलाई कारवाही गर्न माधव नेपालको माग


काठमाण्डु – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेमाथि चितवनको राप्ती नगरमा भएको अभद्र व्यवहारको वरिष्ठ नेता माधवकुमार नेपालले भत्सर्ना गरेका छन् ।

सुनियोजित रुपमा अभद्र व्यवहार तथा नाराबाजी भएको भन्दै नेता नेपालले यसको छानविन गरी कारबाही गर्न स्थानीय पार्टी एवं सम्वद्ध पक्षको ध्यानाकर्षण गराएका छन् । यस्तो कार्य जो सुकैले गरेको भए पनि लोकतान्त्रिक कम्युनिस्ट पार्टीका लागि पटक्कै नसुहाउने कार्य  भएको बताएका छन् ।

नेता पाण्डेमाथि शनिबार नगरको बैठकमा सहभागी भएर मन्तव्य राखिरहेका बेला अनाधिकृत रूपमा प्रवेश गरेका व्यक्तिहरूले सुनियोजित रूपमा अभद्र व्यवहार देखाउनुका साथै नाराबाजी गरेका थिए ।

‘हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही व्यक्तिहरूले सुनियोजित रूपमा गरेको अभद्र ब्यवहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु’, नेता नेपालले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement