वीरमा भर्ना भएका राज्यमन्त्री यादव जसले पदमुक्त हुँदैछु भनेर थाहै पाएनन


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनगर्ठन गरेकी छन् ।

पुनर्गठित मन्त्रिपरिषदमा नौ जना नयाँ अनुहार थपिएका छन् भने नौ जना पुराना अनुहारलाई बिदा गरिएको छ । पुर्नगठित मन्त्रिमण्डलमा हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, बसन्तकुमार नेम्बाङ, पार्वत गुरुङ, मोतिलाल दुगड, रामवीर मानन्धर र नवराज रावत थपिएका छन् ।

त्यस्तै गोकर्ण विष्ट, लालबाबु पण्डित, मातृका यादव, चक्रपाणी खनाल, रघुवीर महासेठ, थममाया थापा, रामकुमारी चौधरी, डाक्टर सुरेन्द्र यादव र धनबहादुर बुढालाई मन्त्रीको जिम्मेवारीबाट बिदा दिइएको छ ।

मन्त्री पदबाट बिदा पाउनेमा स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादव पाँच दिनदेखि वीर अस्पतालमा उपचाररत छन् । मेरुदण्डको समस्याले हिँडडुल गर्नै नसक्ने भएपछि राज्यमन्त्री वीर अस्पतालको भीआईपी कक्षमा उपचाररत छन् । स्वास्थ्य राज्यमन्त्रीमा सुर्खेत २ बाट तत्कालीन नेकपा एमालेबाट विजयी नवराज रावतलाई ल्याइएको छ ।

उनलाई नशा रोग विशेषज्ञ राजीव झाको टोलीले उपचार गरिरहेको छ । स्वास्थ्यमा समस्या देखिएपछि पहिलो पटक नर्भिक अस्पतालमा भर्ना भए पनि त्यहाँ लामो समय कुर्नु पर्ने भएकाले राज्यमन्त्री यादव वीर अस्पताल पुगेका थिए । मन्त्रिपरिषद् पुनर्गठन हुने जानकारी भए पनि उनलाई बर्खास्त हुन्छु भन्ने थाहा थिएन ।

समाजवादी पार्टी सरकारमै बसेर संघर्ष गर्ने बताइरहेको थियो । तत्कालीन संघीय समाजवादी फोरमको सिफारिसमा स्वास्थ्य राज्यमन्त्री बनेका डाक्टर यादव पेशाले चिकित्सक हुन् ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको पनि मन्त्रालय हेरफेर भएको छ । भारतमा रहेका उपप्रधानमन्त्रीसमेत रहेका यादवलाई कानुन, न्याय तथा संसदीय मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि उनले सम्हाल्दै आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी भानुभक्त ढकाललाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement