युवकको मृत्युपछि सुर्खेत तनावग्रस्त, वीरेन्द्रनगरमा कर्फ्यू लाग्यो


सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा मंगलबार टिपरको ठक्करबाट एक युवकको मृत्यु भएपछि सुरु भएको आन्दोलन उग्र बन्दै गएपछि प्रशासनले वीरेन्द्रनगर र आसपासमा कर्फ्यू लगाएको छ ।

मंगलबार साँझ साढे ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू लगाइएको हो । मंगलबार बेलुका बसेको सुरक्षा समितिले कर्फ्यू आदेश जारी गरेको हो ।

वीरेन्द्रनगरदेखि पूर्वको ईत्राम खोला, पश्चिममा बांगेसीमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्न राजमार्गको ५०० मिटर दक्षिण क्षेत्रसम्म कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

वीरेन्द्रनगरको मुख्य सडकस्थित गौतम चोकमा बिहान सवा ८ बजे भे १ ख २२४२ नम्बरको टिप्परले भे ६ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक केशर सिंहको मृत्यु भएको थियो ।

पश्चिम दिशाबाट पूर्वतर्फ आइरहेका कालिकोटको महावै गाउँपालिका–३ डिल्लीकोटका सिंह सवार मोटरसाईकललाई सोही दिशाबाट आइरहेको टिप्परले ठक्कर दिएको हो ।

दुर्घटनापछि सुरु भएको आन्दोलनका कारण दिनभर वीरेन्द्रनगर बजार तनवग्रस्त बनेको छ । आन्दोलनका क्रममा सुरक्षाकर्मीमाथि नै ढुंगामुढा हुन थालेपछि गोली समेत चलेको छ ।

आज भएको आन्दोलनका क्रममा आन्दोलनकारीले प्रहरीलाई ढुंगा हानेपछि प्रहरीले गोली चलाएको हो । प्रहरीको गोली लागेर ८ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा जुम्लाका २५ वर्षीय महेश गौतम, दैलेखका १६ वर्षीय हृदेशकुमार शाही, दैलेखका १७ वर्षीय कृष्णबहादुर थापा, गोकुल गिरी, कालीकोटका कमान सिंहलगायत छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement