काठमाण्डु– त्रिशूली थ्रि–ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय विशेष प्राविधिक टोली परिचालन गरिएको छ। चिनियाँ उद्धार विशेषज्ञ टोली पनि नेपाल आउने तयारीमा रहेको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय टोलीले उद्धार कार्यमा प्राविधिक सहयोग गर्न थालिसकेको जानकारी दिए । सुरुङ उद्धारमा विशेषज्ञता भएको चिनियाँ टोलीलाई पनि नेपाल ल्याउने पहल भइरहेको उनले बताए ।
उनका अनुसार उद्धारस्थलको कठिन भौगोलिक अवस्था र बाढीका कारण जमिनमा आएको परिवर्तनले उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ ।
त्यसैले सरकारले अन्तर्राष्ट्रिय प्राविधिक सहयोगसँगै स्थानीय सुरक्षाकर्मीको स्थलगत अनुभवलाई समेत आधार बनाएर अभियान अघि बढाइरहेको छ ।
मन्त्री खनालले स्थलमार्गबाट परिचालन गर्न सकिने प्राविधिक टोलीलाई प्राथमिकता दिइएको बताए। हेलिकोप्टरबाट उद्धार तथा प्राविधिक सहयोग पुर्याउने प्रयास गर्दा पनि जटिल भूगोलका कारण जोखिम बढ्न सक्ने उनको भनाइ छ ।
‘जटिल भूगोल र आकस्मिक बाढीले जमिनमा पारेको प्रभावका कारण उद्धार कार्य अत्यन्त संवेदनशील बनेको छ,’ खनालले भने, ‘यो भूगोलका लागि नयाँ रहेका विदेशी उद्धार टोलीको सुरक्षालाई समेत ध्यान दिनुपर्ने भएकाले स्थानीय सुरक्षाकर्मीको सल्लाह र स्थलगत जानकारीका आधारमा उद्धार कार्य सञ्चालन गरिरहेका छौँ ।’
सरकारले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन आवश्यक अन्य अन्तर्राष्ट्रिय प्राविधिक सहयोग जुटाउने प्रयाससमेत जारी राखेको जनाएको छ ।




प्रतिक्रिया