काठमाण्डु – नेकपा एमालेका सांसद सूर्य बहादुर थापाले निर्वाचन क्षेत्रको विकास प्रक्रियामा निर्वाचित सांसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभामा बोल्दै उनले मानिसहरू सांसदलाई विकास प्रक्रियाबाट अलग गर्नुपर्ने नकारात्मक भाष्य निर्माण गर्न लागेको बताउँदै उनले भने, ‘निर्वाचन क्षेत्रको विकास प्रक्रियामा निर्वाचित सांसदको भूमिकालाई प्रभावकारी, अटुट र अन्योयाश्रित रूपमा जोड्नु अनिवार्य छ । समाजमा एकथरी मानिसहरू यस कार्यमा सांसदलाई अलग गर्नुपर्ने वाहियात छलफल, बुद्धि विलास, पूर्वाग्रही एवम् नकारात्मक भाष्य निर्माण गर्न लागेको भेटिन्छन् ।’
उनले सांसदहरूलाई कोष नभई योजना सिफारिस गर्ने अधिकार भएको बताए । उनले निर्वाचित जनप्रतिनिधिहरूको भूमिका कमजोर बनाउने कार्य कुनै बहानामा पनि उचित नहुने भन्दै यसमा आमनागरिकको असन्तुष्टि थप बढ्दै जाने बताए ।
‘सांसदहरूलाई कोष होइन, योजना सिफारिस गर्ने अधिकार दिँदा त्यसकाविरुद्ध किन बकवास गरिन्छ ? बजेट सुन्ने, छलफल गर्ने, पारित गर्ने सांसदहरूको संवैधानिक र कानूनी अधिकार नै हो । निर्वाचित जनप्रतिनिधिहरूको भूमिका कमजोर बनाउने कार्य कुनै बहानामा पनि उचित र सही हुन सक्दैन । यसबाट व्यवस्था विरोधी, अस्थिरतावादीहरू र अराजकतावादीहरू हौसिने तथा अनावश्यक रूपमा आमनागरिक र मतदाताहरूमा थप असन्तुष्टि बढ्दै जान्छ,’ उनले भने ।
प्रतिक्रिया