काठमाण्डु – बुधबार विश्वका केही भागबाट सूर्यग्रहण देखिनेछ । केही क्षेत्रमा पूर्ण सूर्यग्रहण देखिनेछ भने केही स्थानमा आंशिक ग्रहण देखिनेछ ।
सूर्यग्रहण उत्तरी रूस, ग्रिनल्यान्ड, आइसल्यान्ड, स्पेन र पोर्चुगलका केही भागमा पूर्ण रूपमा देखिनेछ ।
तर यसपटकको सूर्यग्रहण नेपालबाट भने देखिने छैन। यसअघि २ असोज २०८२ मा पनि सूर्यग्रहण लागेको थियो। त्यतिबेलाको सूर्यग्रहण पनि नेपालबाट देखिएको थिएन।
नासाका अनुसार पूर्ण ग्रहण अर्थात् सूर्य पूर्ण रूपमा ढाकिने चरण उत्तरी रूसको एउटा सानो र दुर्गम क्षेत्रमा दिउँसोको समयमा देखिनेछ ।
त्यसपछि ग्रहण पृथ्वीमा पूर्व दिशातर्फ अघि बढ्दै साँझ स्पेन पुग्नेछ । यो पूर्ण ग्रहण निकै छोटो समयको हुनेछ र यसको अवधि साढे दुई मिनेटभन्दा कम रहनेछ ।
अमेरिकाको उत्तरी भाग, क्यानडा, उत्तर–पश्चिमी अफ्रिका र युरोपका धेरै क्षेत्रमा आंशिक सूर्यग्रहण देखिनेछ । केही स्थानमा सूर्यको ९० प्रतिशत वा त्यसभन्दा बढी भाग ढाकिनेछ ।
अफ्रिका र मुख्यभूमि युरोपका केही भागमा यो झनै विशेष हुनेछ, किनकि त्यहाँ सूर्यास्तको समयमा ग्रहण देखिनेछ । अर्थात् सूर्य अस्ताउँदै गर्दा पनि त्यसमा आंशिक ग्रहण लागेको हुनेछ ।
नासालगायत धेरै संस्थाले सूर्यग्रहणको प्रत्यक्ष प्रसारण गर्ने तयारी गरेका छन्। यो खगोलीय घटना त्यतिबेला हुन्छ, जब चन्द्रमा पृथ्वी र सूर्यको बीचबाट गुज्रिन्छ र सूर्यको आंशिक वा पूर्ण प्रकाश पृथ्वीसम्म पुग्नबाट रोक्छ ।
पूर्ण सूर्यग्रहण त्यतिबेला हुन्छ, जब चन्द्रमा, सूर्य र पृथ्वी एकै सीधामा आउँछन् र चन्द्रमाले सूर्यको पूरा गोलाकार सतहलाई ढाक्छ ।
यसका कारण आकाशमा बिहान हुनुअघिको वा साँझ पर्न लागेको जस्तो अँध्यारो हुन्छ । यो दृश्य त्यतिबेला मात्र देखिन्छ, जब हामी चन्द्रमाको गहिरो छायाँ पर्ने क्षेत्र, जसलाई ‘अम्ब्रा’ भनिन्छ, भित्र रहन्छौं ।
कहिलेकाहीँ ग्रहण लागेको सूर्यको वरिपरि चम्किलो घेरा पनि देखिन्छ । यो सूर्यको सबैभन्दा बाहिरी वायुमण्डल हो, जसलाई ‘कोरोना’ भनिन्छ । सामान्य अवस्थामा सूर्यको अत्यधिक चमकका कारण यो देखिँदैन ।
यदि हामी चन्द्रमाको बाहिरी छायाँ, जसलाई ‘पेनुम्ब्रा’ भनिन्छ, भित्र रहन्छौँ भने आंशिक सूर्यग्रहण देखिन्छ । यसमा चन्द्रमाले सूर्यको केही भाग मात्र ढाक्छ र सूर्य अर्धचन्द्राकारजस्तो देखिन थाल्छ ।
वलयाकार सूर्यग्रहण त्यतिबेला हुन्छ, जब चन्द्रमा सूर्यको अगाडि आउँछ तर पृथ्वीबाट त्यति टाढा हुन्छ कि उसले सूर्यलाई पूर्ण रूपमा ढाक्न सक्दैन ।
चन्द्रमाको कक्षा अण्डाकार हुन्छ, अर्थात् यो पूर्ण रूपमा गोलाकार हुँदैन । जब चन्द्रमा पृथ्वीबाट सबैभन्दा बढी टाढा हुने अवस्थाको आसपास सूर्यको अगाडि आउँछ, तब हामीलाई चन्द्रमा तुलनात्मक रूपमा सानो देखिन्छ ।
यस्तो ग्रहणमा चन्द्रमाको वरिपरि सूर्यको चम्किलो गोलाकार किनारा देखिइरहन्छ । यी सबै प्रकारका सूर्यग्रहण चन्द्रग्रहणभन्दा फरक हुन्छन् । चन्द्रग्रहणमा पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आउँछ र पृथ्वीको छायाँ चन्द्रमामा पर्छ ।




प्रतिक्रिया