काठमाण्डु-नारायणघाट–मुग्लिन सडक अन्तर्गत चितवनको सिमलतालमा पहिरोमा पुरिएर हराएका २ वटा बस र त्यसमा सवार यात्रुको खोजीका लागि सरकारले चीनसँग सहयोग लिने तयारी गरेको छ ।
राज्य व्यवस्था समितिको आज बसेको बैठकमा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले सिमलतालमा असार २८ गते त्रिशूली नदीमा खसेका दुई बस र बेपत्ता यात्रुको खोजीमा सघाउन चीन सरकारलाई अनुरोध गर्ने तयारी भइरहेको जानकारी दिए ।
‘सिमलताल दुर्घटनामा बेपत्ता भएकामध्ये २४ जनाको शव फेला परेको छ । तीमध्ये पाँच जनाको सनाखत हुन बाँकी छ,’ बैठकमा गृहसचिव अर्यालले भने, ‘३५ जना अझै बेपत्ता छन् । उनीहरूको खोजीका लागि चीन सरकारलाई अनुरोध गर्ने तयारी गरेका छौँ ।’
गृहसचिव अर्यालले २ सय ५० किलोमिटरभन्दा बढी चल्ने सवारीमा दुई जना चालक अनिवार्य गर्ने तयारी गरिएको पनि बैठकमा बताए । उनका अनुसार यात्रा गर्दा यात्रुको टिकट अनिवार्य गर्न पनि यातायात व्यवसायीलाई भनिएको छ ।
यसअघि भारतीय टोलीले दुर्घटनास्थल आएर खोजी गरेको थियो । भारतीय टोलीले एक हप्तासम्म बस र यात्रीको खोजी गर्दा नभेर्टिपछि फर्किएको थियो । यात्र र बस खोज्न भारतीय उद्धार टोली परिचालन गर्दा पनि प्रयास निष्फल भएको थियो ।
गत २८ असारमा वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ख ००१ नम्बरको बस सिमलताल आएको पहिरोमा परेर त्रिशूली खसेका थिए । बसमा सवार ६५ जनामध्ये तीन जना हामफालेर बाँच्न सफल भएका थिए भने ६२ जना बेपत्ता भएका थिए । हालसम्म २४ जनाको शव फेला परेपनि अन्यको अवस्था अझै अज्ञात छ ।
प्रतिक्रिया