सुस्तामा विपद् व्यवस्थापनको पूर्वाभ्यास गर्दै सेना र प्रहरी


परासी – गाउँमा बाढी पसेपछि नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को सुस्ता गाउँका सर्वसाधारण एकाएक डुबानमा फसे । उनीहरुले हारगुहार गर्दै विपद् व्यवस्थापन समितिलाई खबर गरे ।

तत्कालै प्रमुख जिल्ला अधिकारीले निर्देशन दिएपश्चात् नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त खोज तथा उद्धार टोली मोटरबोटमा आवश्यक उद्धार सामग्रीसहित घटनास्थलमा पुगेर बाढीमा फसेकालाई उद्धार गर्ने, उद्धार गरिएका व्यक्तिलाई सुरक्षितस्थलमा पुर्‍याउने र घाइतेलाई अस्पताल पुर्‍याउने कार्यमा खटिएको छ ।

उद्धार टोलीले प्राथमिकताको आधारमा मानिस, पशुपन्छी र महत्वपूर्ण वस्तु उद्धार गरी सुरक्षित स्थामा पुर्‍याएका छन् । उद्धार गरिएका व्यक्तिलाई रेडक्रसका स्वयंसेवकले प्राथमिक उपचार गरेपछि थप उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको छ ।

त्यसैबखत सुस्तामा आगलागी पनि भएको खबर आएपछि नेपाली सेना र प्रहरीको टोली उद्धारका लागि घटनास्थलमा पुगेर आगलागी नियन्त्रणमा लिएर पीडितको उद्धार गरेका छन् । डुबान र आगलागीबाट पीडित व्यक्ति तथा घाइतेको उपचार, व्यवस्थापन र राहत वितरणमा सुरक्षाकर्मी, रेडक्रसकर्मी तथा विभिन्न सङ्घसंस्था खटिएका छन् ।

यो घटना वास्तविक नभई विपद् व्यवस्थापनको पूर्वतयारीका लागि गरिएको नाटकीय अभ्यास हो । जिल्ला विपद् व्यवस्थापन समिति नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को आयोजनामा सम्भावित विपद् जोखिम नियन्त्रणका लागि पूर्वतयारीस्वरुप नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्तरुपमा पूर्वअभ्यास गरेको हो ।

सोही क्रममा नेपाली सेनाको विपद् व्यवस्थापन गणसँगको समन्वयमा कालीध्वज गण परासीले भूकम्पबाट भत्किएको संरचनाबाट गरिने खोज तथा उद्धारको पनि अभ्यास गरेको थियो । यस प्रकारको संयुक्त अभ्यासले प्राकृतिक विपद्को बेला छोटो समयभित्र उद्धार कार्य तथा जनधनको न्यूनतम क्षतिका लागि अपनाइने विधि, प्रयोग गर्न र क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए ।

जिल्लामा हुनसक्ने प्राकृतिक प्रकोपका घटनाबाट जनधनको क्षति न्यूनीकरण र उद्धारका लागि सुरक्षाकर्मी र आवश्यक विपद् व्यवस्थापन सामग्री तयारी अवस्थामा राखिएको प्रजिअ पाठकले बताए । जल उत्पन्न प्राकृतिक प्रकोपको हिसाबले पश्चिम नवलपरासी १७ औँ स्थानमा पर्दछ भने बाढी, डुबान, पहिरो, नदी कटान, आगलागीलगायतका प्रकोपको उच्च जोखिममा पनि पर्दछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement