काठमाण्डु- नवलपरासी सीमावर्ती क्षेत्र सुस्ताका बासिन्दा नागरिकता र भूमि अधिकारको माग गर्दै काठमाडौं आइपुगेका छन्।
मंगलबारदेखि माइतीघर मण्डलामा नागरिकता र भूमि अधिकारको माग गर्दै धर्ना सुरु गरेका छन् ।
‘सुस्ता बचाउ अभियान’ र ‘सुस्ता बचाउ युवा अभियान’को नेतृत्वमा उक्त धर्ना कार्यक्रम सुरु भएको हो।
अभियान सुरू गर्नुअघि आइतबार बुटवलमा उनीहरूले पत्रकार सम्मेलन गर्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको थियो।
अभियानका प्रतिनिधिहरूले सीमावर्ती क्षेत्रका नागरिकका समस्या समाधानमा सरकारले लामो समयदेखि बेवास्ता गरेको आरोप लगाएका छन्।
आफ्ना समस्या राख्न पटक–पटक प्रधानमन्त्रीको सचिवालयसँग भेटका लागि समय मागे पनि कुनै सुनुवाइ नभएको उनीहरूको गुनासो छ ।
अभियानले सुस्ता–५ मा मात्रै करिब १२० घरपरिवार अझै नागरिकताविहीन रहेको जनाएको छ ।
नागरिकता अभावका कारण स्थानीय शिक्षा, स्वास्थ्य, बैंकिङ, रोजगारी तथा अन्य सरकारी सेवाबाट वञ्चित हुँदै आएको उनीहरूको भनाइ छ ।
‘नेपाली भूमिको संरक्षणका लागि संघर्ष गर्दै आए पनि नागरिकतासहित आधारभूत अधिकारबाट वञ्चित हुनुपरेको छ’, स्थानीय बासिन्दा अब्दुल गनीले गुनासो पोख्दै भने ।
अभियानका प्रतिनिधिहरूले सीमासम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको भनाइपछि भारतीय पक्षबाट सीमाक्षेत्रमा थप दबाब बढेको दाबी गरेका छन्।




प्रतिक्रिया