फिल्डमा निस्किए अर्थमन्त्री वाग्ले, राहत र उद्धारमा कुनै कमी हुन नदिन निर्देशन

फिल्डमा निस्किए अर्थमन्त्री वाग्ले, राहत र उद्धारमा कुनै कमी हुन नदिन निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन र निरीक्षणमा पुगेका छन् । शनिबार बिहानै नुवाकोटको सदरमुकाम विदुर पुगेका उनले नेपाली सेनाको नेतृत्वमा सञ्चालित ‘राहत तथा उद्धार कमाण्ड पोस्ट’ पुगेर उद्धार तथा राहत वितरणमा भइरहेका कामहरूबारे जानकारी लिएका हुन् ।

सो क्रममा उद्धार कार्यको नेतृत्व गरिरहेका नेपाली सेनाका उपरथी रञ्जित थापाले बाढीपीडितको उद्धार र राहतमा प्रभावकारी रूपमा काम भइरहेको जानकारी दिए।

उनले हराइरहेका मानिसहरूको जीवितै उद्धारलाई पहिलो प्राथमिकतामा राखेर बुधबारदेखि नै काम भइरहेको र शनिबारसम्म आइपुग्दा विभिन्न जलविद्युत् परियोजनाको सुरुङमा फसेका मानिसहरूको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको बताए।

उद्धारका साथसाथै विस्थापितलाई अस्थायी बसोबास, खाद्यान्न र अन्य प्रकारका राहत वितरणमा पनि केन्द्रबाट काम भइरहेको जानकारी उनले दिए। उनले बाढीग्रस्त क्षेत्रमा तत्काल ‘बेलिब्रिज’ आवश्यक रहेको बताए ।

अर्थमन्त्री डा. वाग्लेले उद्धार, उपचार र पुनर्स्थापनामा सरकारबाट पूर्ण साथ र सहयोग रहने भन्दै कुनै पनि कुराको अभाव महसुस नगर्न र कुनै पनि खालको सहयोगका लागि निर्धक्क भएर समयमै भन्न नेपाली सेनालाई आग्रह गरेका थिए ।

अर्थमन्त्री वाग्लेले नेपाली सेनाको गौथली ब्यारेकमा रहेको हवाई उद्धार केन्द्र, राहत सामग्री संकलन, वितरण केन्द्रको निरीक्षण गरेका थिए ।

उनले त्यहाँ रहेका पीडित परिवारजनलाई भेटेर उनीहरूका समस्यासमेत सुनेका थिए ।

अर्थमन्त्री वाग्ले बाढीले ध्वस्त भएको ढुङ्गे बजार, देवीघाट बजार, गल्छी–रसुवागढी सडकखण्ड , तल्लो पिपलटारमा रहेको आयुर्वेदिक केन्द्र र चन्द्रज्योति स्कुलमा रहेको होल्डिङ सेन्टरको अवलोकन गरेका थिए । यस्तै वाग्लेले तल्लो पिपलटारमा रहेको आयुर्वेदिक केन्द्र र चन्द्रज्योति स्कुलमा रहेको होल्डिङ सेन्टर पुगेर देवीघाट बजारबाट उद्धार गरिएका स्थानीयहरूलाई भेटेर उनीहरूका समस्या सुनेका थिए भने उद्धार गरिएका घाइते स्थानीयहरूसँग भेटघाट गरेर स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिएका थिए ।

अर्थमन्त्री डा.वाग्ले र सञ्चारमन्त्री डा. बिक्रम तिमल्सिनाले नुवाकोटका जनप्रतिनिधि तथा राजनीतिक दलका नेतृत्वसँग विपद्पछिको उद्धार, राहत, उपचार र पुनर्स्थापनाको समन्वयका लागि छलफल गरेका थिए । जिल्ला समन्वय समितिको हलमा अर्थमन्त्रीको पहलमा बोलाइएको छलफलमा उनले केन्द्र सरकारबाट कुनै पनि खाले स्रोतको अभाव नहुने स्पष्ट पार्दै सबै जना एकजुट भएर विपद्पछिको प्रतिकार्यमा लाग्न आग्रह गरे।

केन्द्र सरकारले सबैखाले स्रोत र साधन उपलब्ध गराउने भन्दै उनले आर्थिक स्रोतको अभाव हुन्छ कि भनेर नसोची जनतालाई विपद्‌मा कुनै पनि कुराको अभाव नहुने गरी काम गर्न आग्रह गरे।