स्वराजको भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ विश्वास थपियो – एमाले नेता डा. भट्टराई


काठमाडौं-  नेकपा एमालेका नेता एवम् नेपाल–भारत सम्बन्ध प्रवुद्ध समूहका नेपाल तर्फका सदस्य डा. राजन भट्टराईले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको दुई दिने नेपाल भ्रमणले द्धिपक्षीय सम्बन्धमा नयाँ विश्वास थपेको स्पष्ट पारे ।

 

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले उच्च तहमा द्धिपक्षीय भ्रमण हुनु अत्यन्तै राम्रो भएको उल्लेख गर्दै भने,‘उच्चस्तरीय राजनीतिक भ्रमण र भेटवार्ताले सम्बन्ध सुमधुर बनाउन सहयोग पुग्छ, नेपालमा तीन तहको निर्वाचन सम्पन्न भएपछि र वाम गठबन्धनले सफलता पाएपछि औपचारिक रुपमा बधाई दिने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चाहना भएकोले विदेशमन्त्री आउनु भएको हो, हाम्रो अध्यक्ष केपी शर्मा ओलीले पनि मोदीको उक्त चाहनालाई स्विकार गर्नुभएको हो।’

 

 

भारतीय प्रधानमन्त्री मोदीले नेपालमा अब बन्ने सरकार र यसको नेतृत्व गर्ने एमाले अध्यक्ष ओलीसँग सहकार्य गर्न तयार रहेको भन्नुले नै द्धिपक्षीय सम्बन्ध कस्तो छ भनेर बुझ्न काफी रहेको उनको भनाई थियो ।

 

भारत नेपालको नजिकको मित्र भएको उल्लेख गर्दै भट्टराईले भने,‘भारत नेपालको नजिकको साथी हो, हामीलाई भारतले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ, हाम्रो अध्यक्षसँगको टेलिफोनवार्तामा पनि मोदीले सहकार्य र सहयोग गर्ने भन्नुभएको छ, हामीले पनि सहयोग लिनुपर्छ, भारत लगायत अन्य मित्रराष्ट्रहरुसँग हामीले समान खाले सम्बन्ध राखेर अघि बढ्छौं।’

 

 

नेता भट्टराईले स्वराजको नेपाल भ्रमण शिष्टाचार भएकोले उनले यो वीचमा सबैसँग भेटवार्ता गरेकोले भ्रमण सफल मानेको आफूहरुले बुझेको बताए । उनले भने,‘उहाँले आफ्नो नेपाल भ्रमण सफल मान्नुभएको छ।’

 

नेपालमा निर्वाचन सफल भएपछि भारतले बधाई दिएको उल्लेख गर्दै उनले भने,‘स्वराज नेपाल आउँदा उहाँलने भन्नुभएको थियो, उहाँको यो भ्रमण शिष्टाचार भ्रमण भनेर, नेपालमा निर्वाचन सम्पन्न भएकोले बधाई र शुभकामना दिन आउनुभएको हो।’

 

 

उनले आफूहरुसँगको भेटवार्तामा स्वराजले बधाई दिनुको साथै अब बन्ने सरकारलाई आफूहरु सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएको जानकारी दिए । उनले भने,‘हाम्रो अध्यक्षसहितको सामुहिक भेटवार्तामा उहाँले भारतीय प्रधानमन्त्री मोदीको सन्देश सुनाउनुभयो, आउने सरकारसँग अत्यन्तै सुमधुर सम्बन्ध राख्ने र सहकार्य गर्ने भन्नुयो, यीनै विषयमा कुराकानी भएका हुन् ।’ आफूहरु सरकारमा नभएकोले भेटवार्तामा दुई देशवीचको विषयमा कुराकानी नभएको उनले स्पष्ट पारे ।

 

उनले अब मुलुक राजनीतिक स्थायित्वको दिशामा अघि बढेकोले आर्थिक समृद्धिको लक्ष्य हाँसिल गर्न आफूहरुको ध्यान केन्द्रित हुनेपनि विश्वास दिलाए । भट्टराईले भने,‘भारत र चीन, र अन्य मित्रराष्ट्रहरुसँग हामी सुमधुर सम्बन्ध बनाएर जान्छौं, उहाँहरुको उदारतापूर्वक सहयोग आवश्यक छ।’

प्रतिक्रिया दिनुहोस
Advertisement