अर्थमन्त्री डा. वाग्ले ३ दिने भ्रमणमा भारत जाँदै, वित्त र विदेशमन्त्रीसँग भेटवार्ता हुने

अर्थमन्त्री डा. वाग्ले ३ दिने भ्रमणमा भारत जाँदै, वित्त र विदेशमन्त्रीसँग भेटवार्ता हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा ३ दिने भ्रमणमा जाने भएका छन् ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत भ्रमण स्वीकृत गरेको हो ।  

उनी बिहीबार ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नेछन् । भ्रमण टोलीमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी हुनेछन् ।

विपद्पछिको पुनर्निर्माण लगायत २ देशबिचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

बिहीबार साँझ ५ बजे उनले आफ्ना भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नेछन् । शुक्रवार अर्थमन्त्री डा. वाग्लेले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यतालिका छ ।

शुक्रबारै भारतका पूर्व विदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा उनी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।

शुक्रबार नै अर्थमन्त्री डा. वाग्ले भारत व्यापार संवर्धन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा सहभागी हुनेछन् ।

शनिवार बिहान भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा अर्थमन्त्री सहभागी हुनेछन् ।

शनिवार दिउँसो नै अर्थमन्त्री डा. वाग्लेले दिल्ली स्कूल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । उनी शनिबार साँझ नेपाल फर्किने कार्यक्रम छ ।