विपद व्यवस्थापनका लागि श्रोतको जोहो भइसकेको छः वाग्ले

विपद व्यवस्थापनका लागि श्रोतको जोहो भइसकेको छः वाग्ले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्राकृतिक विपद्बाट उत्पन्न संकट व्यवस्थापनका लागि सरकारसँग आर्थिक स्रोतको कमी नरहेको बताएका छन् ।

रास्वपा सभापति रवि लामिछानेको आह्वानमा बिहीबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री वाग्लेले उद्धार र राहतसँगै भविष्यमा गर्नुपर्ने पुनर्निर्माणका लागि समेत आवश्यक बजेटको व्यवस्था भइसकेको दाबी गरे ।

उनका अनुसार विपद् लगत्तै विश्व बैंकसँगको सहकार्यमा करिब २५ अर्ब रुपैयाँ बराबरको आर्थिक सहायता जुटाउने सुनिश्चितता भएको छ । त्यस्तै चीन, भारत, जापान, एसियाली विकास बैंक र रेडक्रसको अन्तर्राष्ट्रिय समितिबाट समेत सहयोगको प्रतिबद्धता आएको बताए ।

अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षको बजेटमा सम्भावित विपद् व्यवस्थापनका लागि विनियोजन गरिएको १० अर्ब रुपैयाँ समेत यसैमा खर्च गरिने उल्लेख गरे ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ अर्ब ३४ करोड तथा गृह मन्त्रालयको कोषमा १ अर्ब १७ करोड रुपैयाँ रहेको उनले बताए ।

उनले उपलब्ध स्रोत परिचालन गरेर तत्काल उद्धार र राहतको काम प्रभावकारी रूपमा अघि बढाइने बताए ।

राष्ट्रिय संकटको समयमा सबै राजनीतिक दल एकै ठाउँमा उभिनु सकारात्मक भएको उल्लेख गर्दै वाग्लेले विपद्को सामना गर्न सरकारसँगै राजनीतिक दल, नागरिक समाज र निजी क्षेत्रबीच समन्वय र सहकार्य आवश्यक रहेको औंल्याए ।

२०७२ सालको भूकम्पपछि पुनर्निर्माणका क्रममा हासिल भएको अनुभवलाई आधार बनाएर यसपटक पनि वैज्ञानिक अध्ययन र तथ्यका आधारमा पुनर्निर्माण अघि बढाइने उनले स्पष्ट गरे ।