अब स्वास्थ्य बीमामा नयाँ आबद्धता र नवीकरण अनलाइनबाटै गर्न सकिने

अब स्वास्थ्य बीमामा नयाँ आबद्धता र नवीकरण अनलाइनबाटै गर्न सकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमासम्बन्धी नयाँ आबद्धता, नवीकरण तथा बिमितको विवरण अद्यावधिक गर्ने कार्य अब अनलाइनमार्फत मात्रै हुने जनाएको छ। बोर्डका अनुसार आजदेखि स्वास्थ्य बीमासम्बन्धी विभिन्न सेवा डिजिटल माध्यमबाटै लिन सकिनेछ।

राष्ट्रिय परिचयपत्रसँग अन्तरआबद्ध गरिएको नयाँ प्रणालीमार्फत सेवाग्राही स्वयं वा दर्ता सहयोगीले घरबाटै स्वास्थ्य बीमाको प्रक्रिया पूरा गर्न सक्नेछन्। बीमा शुल्क भुक्तानीका लागि इसेवा, खल्ती र कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।

राष्ट्रिय परिचयपत्र नभएका परिवारका सदस्यले भने म्यानुअल रूपमा डिजिटल विवरण पेस गर्न सक्नेछन्। यससँगै पहिले नै स्वास्थ्य बीमामा आबद्ध परिवारले परिवारमूलीको बीमा नम्बर प्रयोग गरी प्रणालीमा जोडिएर आफ्नो विवरण अद्यावधिक तथा बीमा नवीकरण गर्न सक्ने बोर्डले जनाएको छ।

विद्युतीय प्रणालीको कार्यान्वयनसँगै सेवाग्राहीको समय बचत हुनुका साथै सेवा प्रवाहमा पारदर्शिता र तथ्याङ्कको शुद्धता बढ्ने अपेक्षा गरिएको छ।

बोर्डका प्रवक्ता डा. पवनकुमार शाहले सरकारले अघि सारेको डिजिटल सुशासनको अवधारणालाई साकार पार्दै स्वास्थ्य बीमा कार्यक्रमलाई पूर्ण रूपमा डिजिटल बनाउने प्रक्रियामा अनलाइन पोर्टलले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।