स्विजरल्याण्डसंग सैन्य सहकार्य गर्ने विषयमा छलफल सुरु 


काठमाडौं– कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसंग नेपालस्थित स्विजरल्याण्डकी राजदूत इलिजावेथ भोन क्याप्लरले शिष्टाचार भेट गरेकी छन् । 

सिंहदरवारस्थित रक्षामन्त्रालयमा शुक्रवार भएको भेटमा दुई देशबीचको कुटनीतिक सम्बन्ध, आर्थिक, सामाजिक तथा दुई मुलुकबीचको सैन्य सहयोग आदान प्रदान तथा सहकार्यका विषयमा छलफल भएको थियो ।

भेटमा कार्यवाहक प्रधानमन्त्री पोखरेलले नेपाल राजनीतिक रुपमा संघीयतामा प्रवेश गरेको र कानुनी र प्रशासनिक संरचना निर्माण गर्ने क्रममा रहेको हुँदा स्विजरल्याण्डबाट आवश्यक सहयोगको लागी आग्रह गरे । 

पोखरेलले कृषि, पूर्वाधार, शैक्षिक तथा प्राविधिक शिक्षा एवं पछिल्लो समय स्थानान्तरित जनताको बारेमा स्विजरल्याण्डले गरेको योगदानप्रति आभार प्रकट गरे ।

सैन्य क्षेत्रमा स्विजरल्याण्डले गरेको सहयोगको स्मरण गर्दै कार्यवाहक प्रधानमन्त्री पोखरेलले आगामी दिनहरुमा दुई देशहरुबीच सहकार्यका क्षेत्रलाई फराकिलो बनाउँदै जाने विषयमा छलफल गरेका थिए । 

स्विस राजदूतले नेपाल र स्विजरल्याण्ड बीचको ६ दशक भन्दा अघि देखिको मित्रतालाई निरन्तरता दिदै नेपालले अघि सारेको आर्थिक विकास र समृद्धिको अभियानमा आवश्यक सहयोग गर्ने धारणा राखिन् ।  

प्रतिक्रिया दिनुहोस
Advertisement