नेपाली सेनाबाट निर्माणाधीन स्याफ्रुबेँसी–मैलुङ सडक खुला


रसुवा- राष्ट्रिय प्राथमिकतामा परेको स्याफ्रुबेँसी–मैलुङ सडक शनिबारदेखि खुला भएको छ । नेपाली सेनाबाट निर्माणाधीन १७ किमी दूरीको सडकमा नागरिक समाजका अध्यक्ष तथा जिल्लामा क्रियाशील सञ्चारकर्मीलाई नयाँ सडकमा गाडीमा गुडाई सडक खुला भएको जानकारी दिइएको स्याफ्रुबेँसी–मैलुङ सडक कार्यदलले जनाएको छ ।

विसं २०७२ वैशाखदेखि नेपाली सेनाले पाएको कार्यादेशबमोजिम निर्धारीत समयमा नै काम भएको र अब दुई चार ठाउँमा टेवा पर्खाल र धुञ्चे पुछारको त्रिशूली नदी छेउको १०० मिटर दूरीमा सतह मिलाउने काम भइरहेको प्राविधिक सेनानी सञ्जय केसीले बताए ।

सडक खुलेको सन्देश दिनका लागि पत्रकार तथा नागरिक समाजका अगुवालाई मैलुङदेखि स्याफ्रुसम्म मोटरमा पु¥याइएको थियो । सेनाले अब एक डेढ हप्तामा सबै काम सम्पन्न गरिसक्ने छ । सडक निर्माणमा हाल सम्म रु ६८ करोड ६९ लाख खर्च भएको र केही नपुग रकम माग गर्ने कामसमेत अगाडि बढिसकेको सडक निर्माण कार्यदलले जनाएको छ ।

सडक निर्माणमा चार जनाको मृत्यु र तीन जना घाइते भएको जनाइएको छ । नेपाल–चीनबीच व्यापार व्यवसाय अभिवृद्धि गर्न सहज हुने उक्त राजमार्ग गल्छीदेखि रसुवागढीसम्म पहिलेभन्दा २५ किमी कम हुने (गल्छी–बेत्रावती–धुञ्चे–रसुवागढी १०६ किमी र गल्छी–बेत्रावती–मैलुङ–रसुवागढी ८१किमी) निर्माणमा संलग्न प्राविधिकले बताएका छन् । सडकमा घुम्ती मोहडा नभएको जनाइएको छ ।

रसुवागढीमा सिसी क्यामेरा
सीमा क्षेत्रमा हुने अवैध कारोवार रोक्ने कार्यमा न्यूनीकरण गर्न रसुवागढी क्षेत्रमा सिसी क्यामरा जडान गर्ने काम सम्पन्न भएको छ । जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार रसुवा भन्सार कार्यालय टिमुरेको सहयोगमा दुई ठूलासमेत १२ सिसी क्यामरा जडान गरिएको छ । यस्तै कैदीबन्दीको संख्या बढ्दै गएकाले सुरक्षा अवस्थालाई ध्यानमा राखी जिल्ला कारागार शाखा रसुवामा आठ सिसी क्यामरा जडान भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement