टी–ट्वान्टी सिरिजका लागि नेपाली टोलीको घोषणा, को–को परे ?


काठमाडौं – सेप्टम्बर २७ बाट सिंगापुरमा सुरु हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

सिरिजमा आयोजक सिंगापुरसँगै टेष्ट मान्यता प्राप्त राष्ट्र जिम्वावे र नेपाल सहभागी हुने उक्त खेलका लागि बिहीबार कप्तान पारस खड्काको कप्तानीमा १५ सदस्यीय क्रिकेट टोलीको घोषणा भएको हो ।

पारसको कप्तानीमा रहेको टोलीमा दिपेन्द्र सिँह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । टोलीमा अन्य खेलाडीमा सोमपाल कामी, करण केसी, ललित राजवंशी, विनोद भण्डारी, सन्दीप लामिछाने, कुशल मल्ल, अभिनाश बोहरा, रोहित पौडेल, सुसान भारी, इसान पाण्डे, आरिफ सेख छन् ।

बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट १५ सदस्यीय टिमको घोषणा गरिएको हो । आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, नेपाली टोलीका प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले खेलाडी छनोट गरेका हुन् ।

नेपालले सेप्टेम्बर २७ मा जिम्वाबेसँग खेल्नेछ भने २८ सेप्टेम्बरमा नेपालले सिंगापुरसँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा नेपालले जिम्वाबेसँग अक्टोबर १ मा आफ्नो दोस्रो खेल खेल्नेछ । २ अक्टोबरमा सिंगापुरसँग खेल्नेछ । सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।

उक्त सिरिजसँग ५ राष्ट्र सम्मिलित टी–ट्वान्टी शृंखला खेल्न नेपाल ओमान प्रस्थान गर्नेछ । नेपाली टोली सिंगापुरबाटै ओमान जानेछ । अक्टोबर ५ देखि १० सम्म हुने सिरिजमा नेपाल, आयरल्याण्ड, ओमान, हङकङ र नेदरल्याण्डको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement