काठमाण्डु-इंग्ल्यान्डले अस्ट्रेलियाविरुद्धको दोस्रो टी–२० प्रतिस्पर्धामा ३ विकेटको जित हात पारेको छ ।
गए राति कार्डिफको घरेलु क्रिकेट मैदानमा भएको खेलमा इंग्ल्यान्डले १९४ रनको लक्ष्य ७ विकेटको क्षतिमा १ ओभर बाँकी रहँदा पुरा गरेको हो । इंग्ल्यान्डका लागि लियाम लिभिङस्टोनले ४७ बलमा ८७ रन प्रहार गरे ।
अस्ट्रेलियाका अलराउण्डर मयाथ्यु सर्टले ३ ओभरमा २२ रन खर्चेर ५ विकेट लिए पनि त्यो टोलीलाई जित दिलाउनका लागि पर्याप्त थिएन ।
सुरुवातमा धरमराएर ३४ रनमा दोस्रो तथा ७९ रनमा तेस्रो विकेट गुमाएको इंग्ल्यान्डका बेथल र लिभिङ स्टोन मिलेर चौथो विकेटका लागि ५७ बलमा ९० रनको साझेदारी गरेका थिए । बेथलले २४ बलमा ४४ रन जोडे ।
टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ६ विकेटको क्षतिमा १९३ रनको योगफल खडा गरेको थियो । अस्ट्रेलियाका लागि ज्याक फ्रेजर म्याकगुकको पहिलो अन्तर्राष्ट्रिय टी–२० अर्धशत्तक तथा जोस इङ्गलीसको ४२ रनको महत्वपूर्ण योगदान रहेको थियो ।
पहिलो खेलमा अस्ट्रेलिया विजयी भएको थियो । अस्ट्रेलिया र इंग्ल्यान्डको तेस्रो टी–२० प्रतिस्पर्धा आइतबार हुनेछ ।
प्रतिक्रिया