थाहा नगरपालिका बेरुजु फर्छ्योटमा देशकै सर्वोत्कृष्ट


काठमाण्डु – मकवानपुरको थाहा नगरपालिका देशकै सर्वोत्कृष्ट भई पुरस्कृत भएको छ । आर्थिक वर्ष २०७५/०७६ मा सर्वोत्कृष्ट कार्य गरेको ठहरसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थाहा नगरपालिकालाई देशभरकै सर्वोत्कृष्ट घोषणा गरेको हो ।

थाहा नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ सम्मको बेरुजु अंकको ९६.०६ प्रतिशत फर्छ्योट गरेको छ । २०७५/०७६ को लेखा परीक्षणबाट जम्मा २.५४ प्रतिशत बेरुजु कायम गरी सर्वोत्कृष्ट नगरपालिको बनेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुरस्कृत गरेको छ ।

थाहा देशकै एक मात्र पुरस्कृत नगरपालिका बनेको छ । असार ३० गते नेपाल सरकार सचिव स्तरको निर्णयबाट निर्णयसहित सर्वोत्कृष्ट घोषणा भएको हो । बेरुजु फर्छ्योट कार्ययोजना र मार्गदर्शन अनुसार उक्त कार्यमा सहभागी कर्मचारीहरूलाई प्रशंसापत्र सहित पुरस्कृत गर्ने मन्त्रालयले निर्णय गरेको छ ।

अघिल्लो आर्थिक वर्ष देशभरको उत्कृष्ट ४ मा पर्न सफल थाहा नगरपालिका यस वर्ष मुलुकभरको ७ सय ५२ स्थानीय तहलाई पछि पार्दै बेरुजु फर्छ्योटमा सर्वोत्कृष्ट घोषित भएको हो । महालेखा परीक्षकको कार्यालयको अन्तिम लेखा परीक्षणमा ४ प्रतिशत भन्दा कम बेरुजु हुने कार्यालयलाई आर्थिक अनुशासन राम्रो भएको मानिन्छ । तर थाहा नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा कार्यालयको बेरुजु जम्मा २.५४ प्रतिशत मात्र कायम गरेको छ ।

थाहा नगरपालिकाको आर्थिक वर्ष २०७४/०७४ सम्मको नियमित गर्नुपर्ने १४ लाख ७१ हजार, असुल गर्नुपर्ने ६४ लाख ४ हजार र पेस्की ७६ लाख ८९ हजार गरी जम्मा १ करोड ५५ लाख ६५ हजार पेस्की बाँकी भएकोमा नियमित गर्नुपर्ने १४ लाख ७१ हजार, असुल गर्ने ६० लाख १३ हजार र पेस्की फर्छ्यौट ७४ लाख ६७ हजार गरी कुल १ करोड ४९ लाख ५२ हजार बेरुजु फर्छ्यौट भएको प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी गराए ।

नगरपालिकाको तर्फबाट उल्लेख्य कार्य गरेकोमा प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी र लेखा अधिकृत विष्णु भुसाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनही ५ हजार पुरस्कार र सम्मान पत्र प्रदान गरेको छ ।

नगरपालिका पुरस्कृत भएपछि नगरप्रमुख लवशेर विष्टले यस कार्यमा उल्लेखनीय योगदान पुर्‍याउनुहुने प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत तथा सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिएका छन् । उनले उपलब्धिलाई सधैँ जोगाइराख्न समेत कर्मचारीहरूलाई अनुरोध गरे । आर्थिक अनुशासनमा देशमै सर्वोत्कृष्ट घोषित भएकोमा नगर प्रमुख विष्टले सबैप्रति आभार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement