कर्मचारीको तलब २० प्रतिशतले बढाउन प्रधानमन्त्रीको ग्रिनसिंनल


काठमाडाैं–गत वर्ष निजामति कर्मचारीहरुले आफूहरुको तलब २५ प्रतिशतले बढ्ने आशा राखेका थिए। तर, आर्थिक वर्ष २०७५-०७६ को बजेट वक्तव्यमा तलब बढेन बरु महंगीभत्ता मासिक २ हजार बढ्यो। कर्मचारीको तलब २०७३ मा बढेकोमा २०७४ मा पनि बढेको थिएन।

अब आगामी आर्थिक वर्ष २०७६-०७७ मा निजामती कर्मचारीको तलब २० प्रतिशतले बढाउन लविङ थालिएको छ। जसमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ‘ग्रिनसिंनल’ दिएका छन्।

निजामती सेवा ऐनअनुसार प्रत्येक ३ वर्षमा निजामती कर्मचारीको तलबभत्ता पुनरावलोकन हुन्छ । मुख्य सचिवको संयोजकत्वमा रहेको समितिले ३ वर्षको भत्तामध्ये ७५ प्रतिशत तलबमा गाभेर २५ प्रतिशत भत्ता कायम गर्ने व्यवस्था ऐनमा छ ।

ऐनअनुसार २०७६ सालमा मात्र तलब पुनरावलोकन हुनेछ । त्यसैले कर्मचारीले तलब बढनेमा ढुक्क जस्तै छन्।

जसका लागि कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनले लबिङ सुरु गरिसकेका छन् । युनियनका अध्यक्ष पुण्य ढकाल ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा पुरा गराउने मुख्य औजार कर्मचारी भएकाले उनीहरुको मनोबल उच्च बनाउन पनि यसपाली खुला हृदयका साथ तलब वृद्धि गर्नुपर्ने बताउँछन्।

त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुरोध समेत गरिसकिएको छ र त्यसमा प्रम ओली सकारात्मक देखिन्छन्।

ढकालले चालु आर्थिक वर्षमा प्राप्त भैरहेको २ हजार भत्ताको ७५ प्रतिशत रकमलाई तलबमा गाभ्ने र पछिल्लो ३ वर्षको मूल्य वृद्धिका आधारमा तलब बढाउनु उपयुक्त हुने बताए ।

यस्तो छ अहिले निजामति कर्मचारीको तलब
मुख्यसचिवः रु ५५,२००।
सचिवः रु ५१,४२०।
सहसचिवः रु ४०,१५०।
उपसचिवः रु ३४,२२०।
शाखा अधिकृतः रु ३०,५००।
नासुः रु २३,५००।
खरिदारः रु २२,१७०।
कार्यालय सहयोगी : रू १८,०००।

प्रतिक्रिया दिनुहोस
Advertisement