भान्सेको तलब न्यायाधीशको खातामा


जनकपुरधाम – प्रत्येक न्यायाधीशले एक जना भान्से राख्न पाउँछन् तर यो अधिकारको दुरुपयोग भइरहेको पाइएको छ । अधिकांश न्यायाधीशले भान्सेमा आफ्ना जिल्लावासी वा विश्वासिलो व्यक्तिको नाम राखेर तलब भने आफैं बुझ्ने गरेका हुन् ।

कागजी रूपमा नियुक्ति पाएका अधिकांश भान्से कि न्यायाधीशका बालबच्चा स्याहार्छन् कि त पत्नीका कामदार छन् । यति मात्र होइन, कतिपय नाम मात्रको भान्से रहेको पनि पाइएको छ । धनुषा जिल्ला अदालतका भवानी थारू १ नम्बर न्यायाधीशका भान्से हुन् । उनले चार वर्षदेखि प्रमुख न्यायाधीशकै भान्सेका रूपमा काम गर्दै आएका छन् । धनुषामा जोसुकै प्रमुख न्यायाधीश आए पनि उनी नै भान्से हुन् । आफू डेढ वर्षदेखि अहिलेका प्रमुख न्यायाधीशको भान्से भएर काम गर्दै आइरहेको उनी बताउँछन् । प्रत्येक बिहान–बेलुका न्यायाधीश निवासमा गएर खाना पकाउने गरेको उनको भनाइ छ । ‘त्यसपछि कार्यालयको काम गर्छु किनकि मेरो नियुक्ति कार्यालय सहयोगीमा भएको छ ।’

व्यावहारिक रूपमा उनी जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीका भान्से भए पनि कागजमा भने अरूकै नाम छ । कागजी रूपमा न्यायाधीश उप्रेतीको भान्सेमा कमल भण्डारीको नाम छ । सर्लाही निवासी उनी न्यायाधीशका छिमेकी रहेको जनाइएको छ । थारूले आफूलाई भण्डारीका बारेमा थाहा नभएको प्रतिक्रिया दिएका छन् ।

भण्डारी न काम गर्न आउँछन् न त तलब बुझ्न नै । तापनि, मासिक रूपमा भान्सेका नाममा तलब निकासा भइरहेको अदालतका लेखापाल शिवकुमार झा बताउँछन् । उनका अनुसार भान्सेको तलब न्यायाधीश आफैंले बुझ्ने गरेका छन् । थारू भने तलब अदालतबाट पाउने गरेको सुनाउँछन् ।

जिल्ला न्यायाधीश उप्रेती पनि भान्सेमा भण्डारीलाई नियुक्त गरिएको स्वीकार गर्छन् । उनका अनुसार भण्डारी आफूसँग घरमा बस्ने गरेका छन् । कहिले सर्लाही त कहिले काठमाडौंको घरमा बस्ने गरेको उनको भनाइ छ ।

पर्सा जिल्ला अदालतका प्रमुख न्यायाधीशको अवस्था पनि फरक छैन । न्यायाधीश नागेन्द्रलाल कर्णका लागि भान्सेको काम सुरेश कुर्मीले गर्छन् तर कागजी रूपमा उनका जिल्लावासी रामविलास मण्डलको नाम भान्सेमा छ । आजको अन्नपुर्ण पोष्टमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement