तालिबानसँगको सम्झौता राष्ट्रपति ट्रम्पद्वारा भंग, अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता नहुने


एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबान बिद्रोहीसँग भएको शान्ति सँझौता सहमति भंग गरेका छन् । । ट्रम्पले श्रृङ्खलाबद्ध ट्वीट गरेर आइतबार क्याम्प डेविडमा तालिबानी नेता र अफगानी राष्ट्रपतिसँग गोप्य बैठकमा भाग लिने कार्यक्रम निश्चित भएपनि अब यसलाई रद्द गरिएको जानकारी दिएका हुन् ।

ट्रम्पले ट्वीटमा आइतबार क्याम्प डेविडमा तालिबानमा शीर्ष नेतासँग आफ्नो भेट हुने तयारी रहेको उल्लेख गरेका छन् । तर सो भेट भंग गरेको र वार्ताको प्रक्रिया बन्द गरेको जानकारी ट्रम्पले दिएका हुन् । उनले काबुलमा भएको कार बम बिस्फोटपछि उक्त कदम उठाएको बताएका छन् जसमा एक अमेरिकी सैनिकसमेत १२ जनाको मृत्यु भएको थियो । तालिबानले उक्त हमलाको जिम्मेवारी लिएको थियो ।

अफगानिस्तानका लागि विशेष अमेरिकी राजदूत जल्मे खलिलजादले गत सोमबार तालिबानसँग ‘सौद्धान्तिक रुपमा’ एक शान्ति सम्झौता भएको घोषणा गरेका थिए । सो सहमतिमा राष्ट्रपति डोनाल्ड ट्रम्पबाट अन्तिम स्वीकृति मिल्न बाँकी थियो, त्यसकै लागि आइतबार तालिबानका नेतासँग उनको भेट हुने तयारी थियो । तर सो भेटअघि नै ट्रम्पले सहमति भंग गरेका हुन् ।

भंग भइसकेको सहमति अनुसार अमेरिकाले २० हप्ताभित्र अफगानिस्तानबाट आफ्ना ५४ सय सैनिक फिर्ता लैजाने थियो । खलिलजादले सहमतिबारे टेलिभिजन अन्तर्वार्तामा जानकारी दिइरहेका बेला अफगानिस्तानमा ठूलो बिस्फोट भएको थियो । खाडी देश कतारमा नौ चरणमा भएको वार्तामा अमेरिका र तालिबान सहमतिमा पुगेको खलिलजादले टोलो न्युजलाई दिएको अन्तर्वार्तामा बताएका थिए ।

अमेरिकाले सेना फिर्ता लैजाने तथा तालिबानले अमेरिकी तथा उसका सहयोगीमाथि आक्रमण नगर्ने सहमति बनेको थियो । तालिबानले पनि खलिलजादले भनेको सहमति सत्य रहेको पुष्टि थियो । हाल अफगानिस्तानमा झण्डै १४ हजार अमेरिकी सेना छन् ।

तालिबानले सन् २००१ यता अफगानिस्तानका सबैभन्दा बढी क्षेत्रमा नियन्त्रण कायम गरेको छ र अफगान सरकारसँग वार्ता गर्न अस्वीकार गर्दै आएको छ । अफगान सरकार अमेरिकाको कठपुतली रहेको उसको आरोप छ । अमेरिकाले सन् २००१ देखि नै अफगानिस्तानमा आफ्नो सैन्य गतिविधि गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement