सरकार गठनबारे तालिवानमा विवाद, राष्ट्रपति निवासमा कुटाकुट


एजेन्सी – सरकार गठनको विषयलाई लिएर तालिवान नेताबीच गम्भिर विवाद देखिएको छ । तालिवानका वरिष्ठ नेताहरूले नै सरकार गठनमा बिबाद भएको स्वीकारेका छन् । समूहका सहसंस्थापक मुल्लाह अब्दुल गनी बरदार र मन्त्रिपरिषद्का एक सदस्यबीच राष्ट्रपति निवासमा विवाद भएको हो ।

बरदार लामो समय सार्वजनिक नभएपछि तालिवान समूहमा केही विवाद भएको हुन सक्ने अनुमान गरिएको थियो । बरदार र शरणार्थी मामिलासम्बन्धी मन्त्री खलिल युर रहमान हक्कानीबीच भनाभन भएको थियो । नेताहरुबीच बिबाद बढेपछि उनीहरुका कार्यकर्ताले हात हालाहाल गरेका थिए ।

सरकार गठनलाई लिएर बिबाद सृजना भएको कतारस्थित तालिवानको कार्यलयका एक नेताले समेत पुष्टि गरेका छन् । अन्तरिम सरकार गठनप्रति उपप्रधानमन्त्री बरदार असन्तुष्ट छन् ।

किन भयो विवाद ?

अफगानिस्तान विजयको जस कसले लिने भन्ने बारेमा तालिवानमा बिबाद सुरु भएको थियो । आफूहरुको कूटनीतिक प्रयासबाट काबुल कब्जा गर्न सफल भएको बरदारले बताएका थिए भने हक्कानी समूहका नेता र उनका समर्थकहरूले लडाइँबाट नै यस्तो सम्भव भएको बताएका थिए ।

अमेरिकी राष्ट्रपतिसँग सोझै टेलिफोन संवाद गर्ने वरदार पहिलो अफगानी नेता हुन् । त्यसअघि अफगानिस्तानबाट अमेरिकी सेना फर्किनेसम्बन्धी दोहा सम्झौतामा पनि उनले हस्ताक्षर गरेका थिए ।

गत महिना काबुल नियन्त्रण गरेको तालिवानले अफगानिस्तानलाई इस्लामिक इमरेट्स घोषणा गरिसकेका छन् । नयाँ सरकारमा महिलालाई समावेश गरिएको छैन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement