तनहुँ-१ मा वाग्लेको जित पक्का, गोविन्द भट्टराईले हार स्विकारे


काठमाण्डु- तनहुँ १ को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले हार स्विकारेका छन् । भट्टाईले आफू यसपटक अब्बल प्रमाणित हुन नसकेको भन्दै आफूले चुनावमा हार बेहोर्नु परेको बताएका हुन् ।

उनले समाजिक सञ्जाल फेसबुक मार्फत जनताको विश्वास जित्न अझै मेहनत गर्ने बताए । मतगणना जारी रहेकै अवस्थामा भट्टराईले यस्तो बताएका हुन् ।

तनुहँ १ मा तनहुँ १ मा पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णि वाग्लेले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो मतगणना अनुसार ४६ हजार ६७ मत गन्दा वाग्लेले २३ हजार ९६६ मत ल्याएका छन्। नेपाली कांग्रेसका गोविन्द भट्टराई १३ हजार ८१२ मतका साथ उनलाई पछ्याइरहेका छन्।

नेकपा एमालेका सर्वेन्द्र खनाल ६ हजार ७९५ मतसहित तेस्रो स्थानमा छन्।

उनले फेशबुकमा लेखेका छन्

हुन त पदलाई मैले कहिल्यै प्राथमिकतामा राखिनँ । पदमा नरहे पनि तपाईंको पीडाले मलाई छोइरह्यो ।

ठूला आदर्शभन्दा तपाईंको व्यवहारिक समस्या समाधानलाई आदर्श मानेर बीपीको समाजवादबाट प्रेरित भएर चार दशक लामो यात्राका क्रममा तपाईंसँग रहेको हुँ । यसक्रममा पार्टीले मलाई विश्वास गरेर तनहुँ १ को उप निर्वाचनमा उम्मेदवार बनाउँदा तपाईंसँगको निकटताका आधारमा जुन आत्मविश्वासका साथ मैदानमा उत्रिएँ, मैले साथ पनि पाएँ ।

मलाई विश्वास गरेर सधैं सकारात्मक प्रतिक्रिया र उत्साह दिएर मप्रतिको विश्वास मतमार्फत प्रकट गर्नुहुने तपाईं सबैप्रति आभार प्रकट गर्दछु ।

चुनावी घरदैलोका क्रममा मेरो विगतप्रतिको तपाईंको विश्वासले धेरै नभए पनि केहीका लागि सानो आशा पैदा गराउन सकेको रहेछु भन्ने कुराले सानो खुशी पनि दिलाएको महसुस गरें । साथै, मप्रति विश्वास नगर्नुहुनेप्रति पनि आभार प्रकट गर्दछु ।

सायद, मेरो तपाईंप्रतिको विश्वास पूरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ, यसले मलाई तपाईंको विश्वास योग्य बनाउन अझ प्रयास गर्नुपर्ने पृष्ठपोषण गरेको छ । तपाईंहरुको जनादेशलाई शिरोपर गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

प्रतिक्रिया दिनुहोस
Advertisement