काठमाण्डु – राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले पछिल्लो समय नागरिकको अभिव्यक्ति स्वतन्त्रता संकुचनमा पर्ने अवस्था उत्पन्न भएको बताएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगको २५औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले सञ्चारकर्मीहरू असुरक्षित रहेको र सञ्चार गृहमाथि क्षति पुगेको भन्दै यस्तो बताए ।
उनले भने, ‘नागरिकको अभिव्यक्ति स्वतन्त्रतासँग मानव अधिकारको अन्योन्याश्रित सम्बन्ध रहन्छ । सूचना प्रवाहको कार्यमा खटिरहेका सञ्चारकर्मीहरू नै असुरक्षित रहेको, समाचार संकलनका लागि खटिँदा उनीहरूलाई हतोत्साही बनाएको, सञ्चार गृहमाथि समेत क्षति पुगेका कारण अभिव्यक्ति स्वतन्त्रता नै संकुचितमा पर्ने अवस्था उत्पन्न भएको सूचनाहरू आयोगले प्राप्त गरिरहेको छ ।’
मानव अधिकारका मुद्दामा आयोगले कारवाहीको सिफारिसमा कार्यान्वयन नहुँदा दण्डहीनताले प्रश्रय पाएको उनले बताए ।
उनले आव २०८१/८२ को प्रारम्भदेखि हालसम्मको अवधिमा आयोगमा मानव अधिकारको उल्लंघन सम्बन्धी ५८ वटा उजुरी दर्ता भएका र १६४ वटा उजुरीहरू फस्र्यौट गरिएको जानकारी दिए ।
प्रतिक्रिया