अचाक्ली बढ्यो गर्मी, जोमसोममा अत्यधिक चिसो

अचाक्ली बढ्यो गर्मी, जोमसोममा अत्यधिक चिसो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – केही दिनयता देशैभर गर्मी बढेको छ । सोमबार र मंगलबार झनै गर्मी बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मधेश प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभाग साथै उपत्यका र खोँचहरूमा तातो दिन तथा सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पश्चिमी तराईमा तातो लहर चल्ने सम्भावना रहेको छ ।

महाशाखाका अनुसार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म अत्यधिक गर्मी हुने भएकोले यो समयमा सकेसम्म घर बाहिर ननिस्कन आग्रह गरेको छ ।

सोमबार बिहान मापन गरिएको तापक्रम विवरण अनुसार तराईका जिल्लाहरूमा अत्यधिक गर्मी बढ्ने देखिएको छ ।

सोमबार दिउँसोको अधिकतम तापक्रम हेर्दा दिपायल, धनगढी र नेपालगन्ज सबैभन्दा तातो हुने अनुमान गरिएको छ । यी सहरहरूको तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियस सम्म पुग्न सक्ने देखिएको छ । यस्तै, भैरहवा र वीरेन्द्रनगरमा ३६ देखि ३८ डिग्री र सिमरामा ३४ देखि ३६ डिग्री सेल्सियस तापक्रम रहने प्रक्षेपण गरिएको छ ।

संघीय राजधानी काठमाण्डुको सोमबारको अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियस बीच रहने छ भने न्यूनतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियस रहने अनुमान छ ।

पहाडी भेगका अन्य सहरहरू जस्तै पोखरामा २९–३१ डिग्री, धनकुटामा २८–३० डिग्री र ओखलढुङ्गामा २५–२७ डिग्री सेल्सियस तापक्रम रहने देखिन्छ ।

हिमाली जिल्ला मुस्ताङको जोमसोममा भने मौसम निकै चिसो रहने छ । जोमसोमको न्यूनतम तापक्रम ८ देखि १० डिग्री सेल्सियस सम्म झर्ने पूर्वानुमान गरिएको छ । जिरी र जुम्लामा पनि न्यूनतम तापक्रम क्रमशः १०–१२ र ६–८ डिग्री सेल्सियस रहने देखिन्छ ।