तरकारीमा विषादी बढ्यो

तरकारीमा विषादी बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – देशकै ठूलो तरकारी बजार कालीमाटीमा भित्रिएको हरियो तरकारीमा यस वर्ष विषादीको मात्रा बढेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार परिसरमा स्थापना गरिएको केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण एकाइले गरेको परीक्षण प्रतिवेदनमा विषादीको प्रयोग बढेको उल्लेख छ ।

आर्थिक वर्ष २०७४-७५ र २०७५-७६ को तुलनामा चालू आर्थिक वर्ष २०७६-७७ को पहिलो सात महिनामा कालीमाटी बजारमा भित्रिएको तरकारीको नमुना परीक्षण गर्दा विषादीको प्रयोग बढेको पाइएको हो ।

सो एकाइका अनुसार चालू आर्थिक वर्षको पहिलो सात महिनामा एक हजार ४०२ वटा नमुना परीक्षण गरिएकोमा १२ वटा नमुनामा खानै नहुने विषादीको मात्रा भेटियो भने तीनवटा आठ÷दस दिन पर्खेर खान मिल्ने पाइयो । सो एकाइका अनुसार आव २०७५÷७६ मा तीन हजार १२४ वटा नमुना परीक्षण गरेकोमा दुईवटा खाना नहुने र दुईवटा केही दिन पर्खेर खानुपर्ने भेटिएका थिए भने आव २०७४-७५ मा एक हजार ८५० वटा नमुना परीक्षण गरेकोमा तीनवटामा खान नहुने र एउटा केही दिन पर्खेर खानुपर्ने भेटिएको थियो ।

यस्तै आव २०७३÷७४ मा एक हजार ९३० वटा नमुना परीक्षण गर्दा २२ वटा खान नहुने र पाँचवटा केही दिन पर्खेर खानुपर्ने पाइएका थिए भने आव २०७२-७३ एक हजार ९३६ वटा नमुनामा १० वटा खाना नहुने र आठवटा केही दिन पर्खेर खानुपर्ने भेटिएका थिए । त्यसैगरी, आव २०७१-७२ मा एक हजार ५७० वटा नमुनामा चारवटा खान नहुने र १५ वटा केही दिन पर्खेर खानपर्ने भेटिएका थिए ।

एकाइका बाली संरक्षण अधिकृत प्रकाश घिमिरेले पछिल्लो सात महिनामा परीक्षण गरेका तरकारीका नमुना घिउसिमीमै पटकपटक खान नहुने विषादीको प्रयोग भएको पाइएको जानकारी दिनुभयो ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।