थाइ सेना प्रमुख काठमाडौंमाः प्रधानसेनापतिसँग भेटवार्ता, यस्तो छ भ्रमण तालिका


काठमाडौं– थाइल्यान्डका सेना प्रमुख तोन्चाइयान स्रिस्वाना नेपालको चार दिने औपचारिक भ्रमणमा बुधबार काठमाडौं पुगेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रथी पूर्णचन्द्र थापाले स्वागत गरेका हुन्।

स्रिस्वानाले बुुधबार नै टुंडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गरेका थिए, भने जङ्गीअड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले उनलाई सम्मान गारत अर्पण गरेको थियो।

यसैबीच, उनले बुुधबार नै प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भेट गरेको नेपाली सेनाले जनाएको छ।

भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको जनाइएको छ। सोहि अवसरमा उनलाई जंगीअड्डामा आयोजित छुट्टै कार्यक्रममा नेपाली सेना सम्बन्धी विविध विषयमा प्रस्तुतिकरण गरिएको थियोे।

भ्रमणको दौरानमा उनी पोखरा, लुम्बिनीलगायत अन्य केही पर्यटकीय स्थलहरुको भ्रमण गर्नुको साथै पाँचखालस्थित वीरेन्द्र शान्ति कार्यतालिम केन्द्रको निरीक्षण भ्रमण गर्नु कार्यक्रम रहेको छ। उनले राष्ट्रपति, प्रधानमन्त्री तथा रक्षामन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।

उच्च तहको सैनिक नेतृत्व वर्गको यस किसिमको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र थाईल्याण्डको राष्ट्रिय सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धलाई सैनिक कुटनीतिको माध्यमबाट थप सुमधुर एवम् प्रगाढ बनाउन मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।

थाइ सेना प्रमुख आगामी २२ गते स्वदेश फिर्ता हुनेछन्।

प्रतिक्रिया दिनुहोस
Advertisement