काठमाण्डु – नेपाली कांगेस निकट तरुण दलका कार्यकर्ताहरूले नियमित महाधिवेशनको माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।
शुक्रबार पार्टी कार्यालय सानेपाको अगाडि पुगेर उनीहरूले ९ वर्ष बितिसक्दा पनि नियमित महाधिवेशन नभएको भन्दै नेपाल तरुण दलको केन्द्रीय तदर्थ समिति विघटनको माग गर्दै मोटरसाइकल र्यालीसहित विरोध जनाएका हुन् ।
विरोध प्रदर्शनमा दलका केन्द्रीय सदस्य रोजन राईले ९ वर्ष बितिसक्दा पनि नियमित महाधिवेशन हुन नसक्नाले आन्तरिक लोकतन्त्र कमजोर भएको भन्दै नियमित महाधिवेशन गर्न सकेको भए दलमा हजारौं युवाहरू नेतृत्वमा स्थापित भइसक्ने बताए ।
उनले भने, ‘कुनै दल वा भातृ संगठन तदर्थवादको नाममा यति लामो समयसम्म रहनु भनेको आन्तरिक लोकतन्त्र कमजोर हुनु त छँदैछ, अझ त्योभन्दा सिङ्गो संगठन कमजोर बनिरहेको छ । नियमित महाधिवेशन गर्न सकेको भए लाखौं तरुण युवाहरूको आशा र भरोसा बोकेका युवाहरू नेतृत्वमा स्थापित भइसकेका हुने थिए ।’
उनले तदर्थ समितिले अहिले तरुण दलको घर भत्काएर नयाँ घर बनाउनेतिर लागेको आरोप समेत लगाए । ‘हाम्रो तदर्थ समितिले अहिले भइरहेको तरुण दलको घर भत्काएर नयाँ घर बनाउने भन्दै लाग्नुभयो । कहिले अधिवेशनको नाममा केन्द्रीय समितिलाई थाहै नदिई आफ्नै साथीहरूमाझ हानाहान र काटमारको अवस्था सिर्जना गराउनुभयो । तरुण दलको सार्वजनिक सम्पत्ति घर बनाउँदा होस् वा भत्काउँदा केन्द्रीय समितिलाई जानकारी हुन पर्दैन र ? तरुण दलको अधिवेशन कुन–कुन जिल्लामा हुँदैछ, को–को केन्द्रीय प्रतिनिधि तोकिँदैछ केन्द्रीय समितिले थाहा पाउनु जरुरी छैन र ?’ उनले भने ।
उनले तदर्थ समितिको समय अवधि सामान्यतया ६ महिनादेखि १ वर्षसम्मको हुने प्रचलन रहेको भन्दै म्याद थप नगर्न माग गरे । उनले फेरि म्याद थप गरिमाग्ने र तरुण दललाई मागिखाने भाडो बनाउने विषयको विपक्षमा आफूहरू रहेको समेत जिकिर गरे ।
उनले भने, ‘तदर्थ समितिको समयावधि सामान्यतया ६ महिनादेखि १ वर्षसम्मको हुने प्रचलन छ । यसरी हेर्दा हाम्रो ३ देखि ६ पटक म्याद थपिएको बुझ्न सकिन्छ । ६–६ पटक म्याद थप्दा पनि महाधिवेशन गर्न नसक्ने त्यहीँ नेतृत्व र त्यहीँ प्रवृत्तिले फेरि महाधिवेशन गर्न सक्छु भनेर म्याद थपिमाग्ने न हामी न कसैको नैतिक धरातल छ, न त नेतृत्वमा त्यो विश्वास छ । त्यसैले नेपाली कांग्रेसले अन्तिमपटक भन्दै समय थप्दा २०८१ चैत मसान्तबाट स्वतः विघटन हुने भन्ने भाषाको मर्म, धर्म र नैतिकतालाई आत्मसात गर्दै नयाँ तदर्थ समितिको माग गर्दछौं । फेरि म्याद थप गरिमाग्ने र तरुण दललाई मागिखाने भाडो बनाउने विषयको विपक्षमा हामी बहुसंख्यक केन्द्रीय सदस्यहरू रहेको जानकारी गराउँदछौं ।’
उनीहरूको र्यालीसँगै पार्टी कार्यालय प्रवेश गरी पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको थियो । तर उनीहरूलाई प्रवेश निषेध गरेपछि थप आक्रोशित बनेका थिए ।
प्रतिक्रिया