तस्करलाई प्रहरीकै सहयोगमा नुनदेखि सुनसम्म सेटिङ


जनकपुरधाम – सीमा क्षेत्रमा सशस्त्रको टोली सक्रिय नहुँदा तस्करी बढेको छ। भन्सार कर्मचारी रमिते बनेपछि महिनाथपुर क्षेत्रमा तस्करहरू सलबलाइरहेका छन्। कर्मचारी र सुरक्षाकर्मीले बेवास्ता गर्दा सेटिङमा तस्करी हुने गरेको पाइएको छ। केही घटनाले त्यसको पुष्टि हुन्छ।

धनुषाको विदेह नगरपालिका—१ महिनाथपुरमा सशस्त्रको पोस्टभन्दा २० मिटर परको घरबाट जनकपुर भन्सार कार्यालयको टोलीले बुधबार १९ लाखभन्दा बढीको सामान बरामद ग¥यो। स्थानीय नवलकिशोर रायको घरमा तस्करी गरी भन्सार छली ल्याइएको कपडा, भाँडावर्तन, खाद्यसामग्रीसहितका ३२ वटा पोका बरामद भएको थियो। नजिकैको सशस्त्र प्रहरी पोस्ट अनभिज्ञ भयो।

गत चैत १५ गते भन्सारका केही कर्मचारी हंसपुर नगरपालिका—८ मा तस्करीको सामान नियन्त्रण गर्न पुगे। सशस्त्र प्रहरी बेसक्याम्प सोनीगामा भन्दा ५ सय मिटर दुरीमा मोटरसाइकलबाट तस्करीका सामान लगिरहेको समूहलाई कर्मचारीले रोके। चारजना मात्र रहेका भन्सार कर्मचारीलाई तस्कर समूहले घेराबन्दीमा पा¥यो। घरेलु हतियार देखाएर कर्मचारीलाई तर्साउँदै तस्करले सबै सामान लुटेर लगे। कर्मचारीले सामान लुटिँदै गरेको भिडियो मोबाइलमा कैद गर्नुबाहेक अरू केही गर्न सकेनन्। नजिकै रहेको सशस्त्र प्रहरी बेस क्याम्पमा खबर गरेको एक घन्टापछि दुईजना प्रहरी कर्मचारी आइपुगे। त्यतिन्जेलसम्म तस्करले कुलेलम ठोकेका थिए।

चैत अन्तिम साता धनुषाको देउरीमा भन्सार कार्यालयबाट कर्मचारी टोली तीन तहको घेराबन्दी गरी तस्कर नियन्त्रणमा खटियो। पहिलो तहमा भन्सार प्रमुख रामेश्वरकुमार मिश्र र अर्का कर्मचारी थिए। दोस्रो र तेस्रो तहमा १५ जनाभन्दा बढी कर्मचारी थिए। मोटरसाइकलमा रहेका तस्कर उल्टै कर्मचारीमाथि जाइलागे। थोरै संख्यामा रहेका तस्करमाथि कर्मचारी समूहले घेराबन्दी गरेपछि तिनीहरू मोटरसाइकल र सामान छाडेर भागे।

यी घटना प्रदेश २ को राजधानी जनकपुर र आसपासका क्षेत्रमा हुने गरेको तस्करीका नमुना हुन्। प्रहरीसँगको सेटिङमा नुनदेखि सुनसम्मको तस्करी भइरहँदा भन्सार कार्यालय निमुखा बनेको छ। लाखौं करोडौंका सामान भयबिना वारपार गर्ने तस्कर समूहलाई प्रहरी र भन्सार कर्मचारीले राम्ररी चिन्छन्। तर, उनीहरूलाई पक्राउ गर्ने आँट गर्दैनन्। यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement