तातोपानी नाका खुल्यो तर चलेन

तातोपानी नाका खुल्यो तर चलेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – लामो प्रयासपछि पुनः सञ्चालनमा आएको तातोपानी नाका भूकम्पअघिको अवस्थामा फर्कन सकेको छैन । चार वर्षदेखि बन्द नाका खुले पनि मानिस आउजाउ गर्न नपाएका कारण चहलपहल शून्य छ ।

मालबाहक गाडी मात्र आउजाउ गर्न पाउने सहमतिपछि चीनले नाका खुलाएको थियो । नेपाल–चीन जोड्ने प्रमुख नाका प्रभावकारी रूपमा सञ्चालन हुन मानिस पनि सहज रूपमा आउजाउ हुनुपर्ने माग स्थानीयको छ । आफ्नो तर्फको तयारी पूरा नभएको भन्दै चिनियाँ पक्षले मानिस आउजाउ नदिएको अधिकारीहरूले बताएका छन् ।

सरकारी पक्षले भने चिनियाँ पक्षले थप व्यवस्थित गर्न लागेका कारण मानिस आवतजावतमा केही समय लाग्ने जनाएको छ । तिब्बतका लागि महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले चीनले नाका थप व्यवस्थित गरिरहेकाले मानिस आवातजावत गर्न नदिएको बताए । ‘पुल निर्माण भइसकेको छ । गाडीमात्रै चलाउने भन्ने विषयमा पहिल्यै सहमति भएको हो । त्यही मोडलमा नाका खुलेको छ,’ उनले भने, ‘अब मानिस आउजाउ गर्न पहल गरिरहेका छौं ।’

भूकम्पले मितेरी पुलसमेत तहसनहस भएपछि नाका बन्द भएको थियो । २०७३ साउनमा भोटेकोसीले सडकलगायत संरचनामा थप क्षति पु¥याएको थियो । सबै दलका स्थानीय नेता, व्यवसायी, सरकारी निकायको लामो प्रयत्नपछि चिनियाँ पक्षले नाका पुनः सञ्चालनमा ल्याएको हो । यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।