काठमाण्डु –वाग्मती नदीको कटानले टौदहपूर्वका केही घर परेका छन् । कीर्तिपुर नगरपालिका–६ स्थित टौदह उपत्यककाको प्रमुख पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछि पछि टौदहको पूर्व र दक्षिणतर्फका बस्ती जोखिममा परेका छन् ।
टौदहका स्थानीयवासी मिलन खडकाका अनुसार वाग्मती नदीको कटानले टौदहपूर्वका बस्ती जोखिममा परेका छन् । ‘अहिले नै पूर्वतर्फका कान्लाहरूबाट टौदहको पानी चुहिन थालेको छ, समयमै केही नगर्ने हो भने टौदहको अस्तित्व नै सङ्कटमा पर्छ’, उनले भने ।
वाग्मतीको पारिपट्टि ललितपुर महानगरपालिकाले पर्खाल लगाएपछि वाग्मतीले पश्चिम किनारमा मात्र एकोहोरो कटान गरिरहेको पनि उनले बताए ।
यसका साथै पश्चिमतर्फ पनि कीर्तिपुर नगरपालिका–४ स्थित दूधपोखरी क्षेत्रबाट बगेर आउने खहरे खोलाले कटान गर्दै लगेको छ । खोलाको दक्षिणतर्फ दक्षिणकाली नगरपालिकाले संरक्षण पर्खाल लगाउने तर कीर्तिपुर नगरपालिकाका तर्फबाट त्यसको पहल नगर्ने प्रवृत्तिले गर्दा कटान रोकथामको काम नभएको अर्का स्थानीय अन्जिल खड्काले बताए ।
विभिन्न निकायहरूले वाग्मती नदीको कटानबाट टौदह र बस्तीलाई जोगाउन टतबन्ध, टेवा पर्खाल आदिका लागि बजेट छुट्याउने गरेका छन् । तर सीमा कहाँसम्म हो भन्ने एकिन नहुँदा त्यस्ता बजेट त्यसै फिर्ता जाने गरेको पनि स्थानीयवासी खड्का बताउँछन् ।
‘पटकपटक वाग्मती सभ्यतासँग गएर सीमाङ्कन गरिदिन भनेका छौँ तर आजसम्म भएन । सीमाङ्कन नभएका कारण निर्माण व्यवससायीले काम सुरु गर्न नमानेको हो’उनले भने ।




प्रतिक्रिया