ताइवानमा पुल भत्कियो, छ जना पुरिएको आशंका


ताइपेइ – ताइवानमा मंगलबार भत्किएको एउटा पुलभित्र कम्तीमा छ जना पुरिएको आशंका गरिएको छ । पुलले एउटा माछा मार्ने डुङ्गालाई थिचेको र त्यस डुङ्गामा कम्तीमा छ जना सवार रहेको उद्धारकर्मीले आंशका गरेका छन् ।

करिब १४० मिटर लामो पुलले डुङ्गालाई थिचेको दृश्य सिसिटिभी क्यामेराले खिचेको थियो । यो पुल ताइवानको पूर्वी तटीय क्षेत्रको नानफान्गाओमा रहेको थियो ।

नेसनल फायर एजेन्सीले डुङ्गामा सवार छ जना क्षतिग्रस्त डुङ्गाभित्रै दबेको हुनसक्ने जनाएको छ । उनीहरुलाई बचाउन निकै मुश्किल रहेको पनि एजेन्सीले बताएको छ ।

पुल भत्किएका कारण अरु १२ जना घाइते भएका छन् जसमा छ जना फिलिपिनो र तीन जना इन्डोनेसियाली नागरिक छन् । एजेन्सीले खोज तथा उद्धार कार्य जारी रहेको जनाएको छ । ताइवानकी राष्ट्रपति चाई इङ–वेनले उद्धार कार्य जतिसक्दो चाँडो सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

सन् १९९८ मा मात्र निर्माण भएको उक्त पुल कसरी भत्कियो भन्ने अझै स्पष्ट हुन सकेको छैन । सोमबार राति ताइवानको पूर्वी तटीय क्षेत्रमा निकै ठूलो आँधी आएपनि मंगलबार मौसम सफा रहेको थियो । एएफपी

प्रतिक्रिया दिनुहोस
Advertisement