एक्काइस हजारको ल्युब आयल किनेका लालबाबुलाई १० लाखको बम्पर पुरस्कार !

एक्काइस हजारको ल्युब आयल किनेका लालबाबुलाई १० लाखको बम्पर पुरस्कार !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको १० लाख रुपैयाँको बम्पर पुरस्कार पर्साका लालबाबु साह कानुलाई परेको छ ।

अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास तथा प्रतिनिधिसभा सदस्यद्वय गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा असोजमा पहिलो १५ दिनको उपहार घोषणा गरेका हुन् ।

कानुले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा तिरेको रकमको कारोबार बम्पर उपहारका लागि छनोट भएको हो ।

उपहार घोषणा भएपछि आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भूषालले कानुलाई तत्कालै फोन गरेर बधाई दिएका थिए । उनले पुरस्कार प्राप्त गर्न नजिकैको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छन् ।

आन्तरिक राजस्व विभागका अनुसार असोज १ देखि १५ गतेसम्म अनलाइन तथा नगद खरिद गरी बिल लिएका उपभोक्ताका ३ करोड १८ लाख १८ हजार २८६ वटा कारोबार उपहार कार्यक्रमका लागि योग्य भएका थिए ।

त्यसमध्ये नगदमा कारोबार गरी बिल लिएका उपभोक्ताका २ लाख ४७ हजार ९७९ वटा कारोबार थिए ।

त्यस्तै, अनलाइन तथा कार्डमार्फत भुक्तानी गरी वस्तु खरिद गरेका उपभोक्ताका ३ करोड १५ लाख ७० हजार ३०७ वटा कारोबार उपहार कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्म दैनिक एक लाख रुपैयाँका दरले प्रदान गरिने उपहारका विजेताहरूको कुपनसमेत सार्वजनिक गरिएको छ ।

करदाता प्रोत्साहन उपहार कार्यक्रममार्फत उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा बिल लिन प्रोत्साहित गर्दै कर प्रणालीमा पारदर्शिता र कारोबारको औपचारिकता बढाउने उद्देश्य राखिएको छ ।