शिक्षा विधेयक : शिक्षक छनोटको विज्ञापनमा आरक्षण बढ्ने, कसलाई कति ?


काठमाण्डु – सरकारले संसद्मा दर्ता गराएको शिक्षा सम्बन्धी विधेयकमा शिक्षक छनोटको विज्ञापनमा ४९ प्रतिशत पदमा आरक्षण दिने प्रस्ताव गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले आज दर्ता गराएको विद्यालय शिक्षा सम्बन्धी विधेयकमा खुला प्रतियोगिताबाट पूर्ति गरिने पदमध्ये ४९ प्रतिशतमा आरक्षण दिने उल्लेख छ । हालसम्म ४५ प्रतिशत आरक्षणको व्यवस्था छ ।

आरक्षणका लागि छुट्याइएको कोटामध्ये ५० प्रतिशत महिलाका लागि छुट्याइएको छ । महिलाका लागि छुट्याइएको पदभित्र पनि विभिन्न समूहका महिलाहरूबीच प्रतिस्पर्धा गराइने प्रस्ताव छ ।

महिलाभित्र खसआर्य महिलालाई २७.७ प्रतिशत, आदिवासी जनजाति महिलालाई २५.७ प्रतिशत, मधेशी महिलालाई १५.३ प्रतिशत, दलित महिलालाई १२.७ प्रतिशत, थारु महिलालाई ६.६ प्रतिशत, अपाङ्गता भएका महिलालाई ४ प्रतिशत, पिछडिएको क्षेत्रका महिलालाई ४ प्रतिशत र मुस्लिम महिलालाई ४ प्रतिशत आरक्षण प्रस्ताव गरिएको छ ।

महिलाबाहेक ५० प्रतिशत पदमा विभिन्न समूहलाई प्रतिशतका आधारमा आरक्षण निर्धारण गरिएको छ । जसमध्ये आदिवासी जनजातिलाई ३२.५ प्रतिशत, मधेशीलाई १९ प्रतिशत, दलितलाई १५.५ प्रतिशत, विपन्न खसआर्यलाई १० प्रतिशत, थारुलाई ९ प्रतिशत, पिछडिएको क्षेत्रका वासिन्दालाई ५ प्रतिशत, मुस्लिमलाई ५ प्रतिशत, अपाङ्गता भएका व्यक्तिलाई ४ प्रतिशत आरक्षण निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement