सरकारसँग भएको ९ बुँदे सहमतिपछि शिक्षक महासंघले के भन्यो ?

सरकारसँग भएको ९ बुँदे सहमतिपछि शिक्षक महासंघले के भन्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल शिक्षक महासंघले सरकारसँग भएको ९ बुँदे सहमतिलाई महत्त्वपूर्ण उपलब्धि भनेको छ ।

महासंघका राष्ट्रिय अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै शिक्षकहरूको काठमाण्डुकेन्द्रित २९ दिन लामो आन्दोलनले सफलता पाएको बताएका छन् ।

बुधबार सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएको छ । उनले शिक्षा ऐन जारी गर्ने लिखित प्रतिवद्धता गराइएको उल्लेख गर्दै अब ऐन आउने विश्वास भएको पनि उल्लेख गरेका छन् ।

आन्दोलनले लामो समयदेखि अल्झिएको समान ग्रेड र तलबको मुद्दा समाधान गरेको छ अध्यक्ष सुवेदीको भनाइ छ । अस्थायी शिक्षकहरूको सञ्चित बिरामी बिदा, सिभिल अस्पतालमा कर्मचारीसरह उपचार सुविधा, सबै शिक्षकका लागि दुर्गम भत्ता र मर्यादाक्रमको सवाल सम्बोधन भएको उनले लेखेका छन् ।

यस्तै २०७५ पछि स्थायी भएका शिक्षकहरूको निवृत्तीभरणको मुद्दामा आंशिक सफलता प्राप्त भएको जनाउँदै सुवेदीले लेखेक छन्, ‘निवृत्तीभरण कोष ऐन २०७५ को संशोधनका लागि शिक्षा ऐन जारी भएसँगै पहल जारी रहने प्रतिबद्धता व्यक्त गरिएको छ ।’

प्रक्रियागत कारणले तत्काल ऐन जारी हुन नसके पनि संसदीय दलका मुख्य सचेतक र समितिका सभापतिसँग लिखित प्रतिबद्धता गराई २०८२ असार १५ गते प्रतिनिधिसभाबाट ऐन पारित गर्ने सुनिश्चित गरिएको सुवेदीको भनाइ छ । ‘हामीले यो आन्दोलनलाई महिनौँ लम्ब्याउनुभन्दा सहमतिका बुँदाहरूलाई ऐनमा समावेश गर्ने गरी काम अगाडि बढाएका छौँ,’ उनले लेखेका छन् ।

आन्दोलनको २६औँ दिनमा प्रहरीको दमनका कारण ६२ जना आन्दोलनकारी घाइते भएको उनले जनाएको छ । आगामी दिनमा नयाँ ऐनमा सहमतिका बुँदाहरू समावेश गर्न र बाँकी मुद्दाहरू (आवधिक बढुवा, अस्थायी अवधि गणना, निवृत्तीभरण) सम्बोधन गर्न महासंघले निरन्तर पहल गर्ने पनि उनले बताएका छन् ।