किशोरीलाई होटलमा लगि परीक्षा लिने तीन शिक्षक पक्राउ


कास्की – परीक्षा केन्द्र भन्दा बाहिर होटलमा लगि अमर्यादित रुपमा परीक्षा लिएको र अन्य प्रचलित कानून बिपरितको कसूरजन्य कार्य गरेको अभियोगमा प्रहरीले ३ जना शिक्षकलाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यामिक बिद्यालय कास्कीका प्रधानाध्यापक सहित तीन जना शिक्षकलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–१८ कास्कीकोट स्थायी घर भएका बिद्यालयका प्रधानाध्यापक ४८ वर्षीय सूर्य तिवारी, रुपा गाउँपालिका–४ सिद्ध स्थायी घर भएका शिक्षक ४१ वर्षीय घनश्याम रेग्मी र पोखरा महानगरपालिका–२० भलाम बस्ने सोही विद्यालयका शिक्षक ४० वर्षीय शिरिष कुमार बस्ताकोटी रहेका छन् ।

उक्त विद्यालयका शिक्षकहरुले कक्षा ११ को ऐच्छिक अंग्रेजी र शैक्षणिक बिधि विषयक आंशिक परीक्षामा सोही विद्यालयकी एक छात्रालाई परीक्षा केन्द्र भन्दा बाहिर होटलमा लगि अमर्यादित रुपमा परीक्षा लिएका थिए ।

अन्य प्रचलित कानून बिपरितको कसूरजन्य कार्यसमेत भएको हुन सक्ने देखिएकोले आवश्यक अनुसन्धान गरी दोषी उपर कारवाही हुन भन्ने राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरको पत्र जाहेरी सहितको कागजातहरु माघ २ गते प्राप्त भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु उपर शिक्षा ऐन अन्तर्गत मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद भई आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement