वर्षमा १ दिन मनाएर युवा दिवस सफल हुँदैन : मन्त्री चौधरी

वर्षमा १ दिन मनाएर युवा दिवस सफल हुँदैन : मन्त्री चौधरी


काठमाण्डु – युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले वर्षमा १ दिन मनाएर मात्रै युवा दिवस सफल नहुने बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवस २०२४ को मूल समारोह समितिको बैठकमा बोल्दै बिहीबार सिंहदरबारमा उनले युवा दिवस सफल बनाउन स्वदेशमै युवाका लागि रोजगारी र उत्पादनमूलक क्षेत्र निर्माण गर्न सक्नुपर्ने जानकारी दिए ।

मन्त्री चौधरीले देशका युवाहरू नेपालमै बस्ने योग्य बनाउन नसकेसम्म युवा दिवस मनाउनुको औचित्य नहुने बताए । उनले युवालाई रोजगारी सिर्जना गर्ने कुरामा बहस गर्नुपर्ने बताए ।

‘अहिले २५औं अन्तर्राष्ट्रिय युवा दिवस मनाइरहेका छौं । अर्कोपटक २६औं मनाउँछौं । हामी यो युवा दिवस युवा तथा खेलकुद मन्त्रालयमा ३६१ जना बसेर होइन कि थोरै मान्छे बसेर भव्य–सभ्य कहिले पनि हुँदैन । तपाईं र हाम्रा देशका युवाहरू जबसम्म नेपालमै बस्ने योग्य बनाउँदैनौं, हाम्रा युवालाई रोजगारी सिर्जना गर्न सक्नुहुन्न, बहस र छलफलमा अघि बढाउन सक्नुहुन्न, तबसम्म राम्रो हुँदैन,’ मन्त्री चौधरीले भने, ‘धेरै बालबालिकाहरू अहिले पनि पढ्न सकेका छैनन् । हामी २५ युवा दिवस मनाइरहेका छौं । हामी युवा दिवस मनाऊँ भव्य र सभ्य रूपमा । आजदेखि प्रण गरौं, नेपालमै कसरी रोजगारी, उत्पादन बढाउन सक्ने बहस अघि बढाऔं । वर्षमा एकदिन मनाएर, चिया खाएर युवा दिवस सफल हुँदैन ।’