काठमाण्डु– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्षमा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमाथि गालीगलौज, धाकधम्की र हातपात गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–४ का ४१ वर्षीय रामकुमार बुढाथोकी, २३ वर्षीय आयुष बुढाथोकी र २७ वर्षीय सचिन बुढाथोकी रहेका छन्।
प्रहरीका अनुसार असोज १४ गते राति करिब १ बजे उनीहरू अस्पतालको आकस्मिक कक्षमा पुगेका थिए। सो क्रममा ड्युटीमा रहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीसँग विवाद गर्दै गालीगलौज, धाकधम्की तथा हातपात गरेको आरोप छ।
घटनाको दृश्य अस्पतालमा जडान गरिएको सीसीटीभी क्यामेरामा समेत कैद भएको थियो। उक्त फुटेज सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाबारे थप चासो बढेको थियो।
घटनाबारे सूचना पाएलगत्तै प्रहरी वृत्त कालीमाटीको टोली अस्पताल पुगेको थियो। प्रहरीले तीनै जनालाई अस्पताल परिसरबाटै नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका उनीहरूमाथि ‘अभद्र व्यवहार गर्न नहुने’ कसूरमा जिल्ला प्रशासन कार्यालय, काठमाण्डुबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया