दश वर्षमा समाजवादको आधार निर्माण हुन्छ : अध्यक्ष प्रचण्ड


तौलिहवा – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले चालू दश वर्षलाई सरकारले समाजवादको आधार निर्माणको दशकका रुपमा अघि बढाएकोे बताएका छन् ।

कपिलवस्तु उद्योग वाणिज्य सङ्घले वाणगङ्गामा मंगलबार आयोजना गरेको दशौँ महोत्सवको उद्घाटन गर्दै अध्यक्ष दाहालले आउँदो दश वर्षपछि नेपालमा आर्थिक सामाजिक क्रान्तिको परिणाम सजिलै देख्न सकिने बताए । ल्हासादेखि लुम्बिनीसम्मको रेलमार्ग निर्माण, पूर्वपश्चिम रेलमार्ग निर्माण, हुलाकी सडक निर्माणजस्ता भौतिक पूर्वाधारहरु चालू १० वर्षमा शुरु गर्ने तयारीमा सरकार अघि बढेको उनले बताए ।

नेपाल, भारत र चीनबीच त्रिदेशीय आर्थिक साझेदारीको नयाँ रणनीतिका साथ सरकार आर्थिक विकास र समृद्धिको दिशामा अघि बढेको बताए । चीनसँग चार वटा बन्दरगाहा सम्मको पहुँच अब नेपालको सहज हुने दावी गर्दै अध्यक्ष दाहालले अब देश भूपरिवेष्ठित देशको रुपमा होइन, समुन्द्रसँग जमीनबाट जोडिएको देशको रुपमा पहिचान स्थापित गर्ने बताए । तिलौराकोट, लुम्बिनी र रामग्रामलाई जोडेर विश्वशान्ति शहरको रुपमा यस क्षेत्रलाई विकास गरी संसारभरका बौद्धमार्गीहरुको आकर्षण केन्द्रको रुपमा विकास गर्न सरकार अघि बढेको उनले बताए ।

यसैगरी लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोडेर धार्मिक केन्द्रको रुपमा विकास गर्दै भारतीय क्षेत्रमा रहेका शक्तिपीठलाई पनि यसमा जोड्दै धार्मिक पर्यटन विकासमा जोड दिने उनले बताए । देश भित्रका लगानीकर्तालाई उत्प्रेरित गरी लगानीमैत्री वातावरण सिर्जना गर्न अध्यक्ष दाहालले सरकारलाई आग्रह समेत गर्नुभयो ।

आन्तरिक लगानी प्रवद्र्धन भए मात्रै विदेशी लगानी भित्र्याउन सकिने भन्दै उनले यसका लागि सरकार संवेदनशील भई स्वदेशी तथा विदेशी लगानीलाई प्रोत्साहन गर्न नीतिगत रुपमा अघि बढेको बताए । कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेललगायतको उपस्थिति रहेको थियो । मंगलबारबाट शुरु भएको दशौँ कपिलवस्तु महोत्सव मङ्सीर १ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा ३०० बढी विभिन्न कक्ष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement